
नमोबुद्ध संवाददाता
काठमाडौं–साहित्यकार रक्ष राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’माथि राजधानीमा अन्तरविमर्श गरियो ।
साङ्ग्रिला बुक्सद्वारा प्रकाशित सङ्ग्रहभित्र रहेका सत्र वटा कथा र यिनका भाव तथा सन्देशबारे चर्चा परिचर्चा गर्न नेपाली वाङ्मय परिषद् र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले शनिबार अन्तरविमर्श कार्यक्रम गरेको हो ।
डायास्पोरा साहित्यका सिद्धान्तकार, युद्धसौन्दर्य चिन्तक राईको यस कथासङ्ग्रहबारे निकै सकारात्मक प्रतिक्रियाहरु व्यक्त भएका छन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले रक्ष राई नेपाली डायास्पोराका असङ्ख्य स्रष्टा मध्ये सर्वश्रेष्ठ स्रष्टा भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो– “रक्ष एक तपस्वी हुन् एक ऋषि हुन् । जो चिन्तन, मनन् र सिर्जनामा दिनरात तल्लिन रहन्छन् । उनको यो कृतिभित्र त्यही गहन चिन्तन र मनन्द्वारा खारिएर आएका, लेखिएका कथाहरू समाविष्ट छन् जसले ज्ञानको तिर्खा मेटाउँछन् नेपाली साहित्यमा यस्ता कृति कमै मात्र लेखिएका छन् ।”
उहाँले पल्टनेको फोटो अङ्ग्रेजी भाषामा अनुवाद भएर विश्वमा जान लायक नेपाली साहित्यिक कृति भएको तर्क पनि गर्नुभयो । प्रा.डा. ज्ञानू पाण्डेले कथाकार राईमा जीवन र जगतका विविध पक्षलाई फरक शैलीमा प्रस्तुत गर्ने क्षमता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “रक्षजीमा आम लेखकका भन्दा छुट्टै शैली छ कथावाचन गर्ने । जसले उनका कथा शक्तिशाली लाग्छन् ।” पाण्डेले कथाकार आफैँ डायास्पोराभोक्ता भएका कारणले पनि कथामा खास डायास्पोरिक स्वाद पाइने दाबी गर्नुभयो ।
कथाकार मातृका पोखरेलले राई नेपाली डायास्पोराकै विशिष्ट स्रष्टा भएको उल्लेख गर्दै साहित्यमा मूल धार, मोफसल वा प्रवास भन्ने जस्ता कुरा भ्रम रहेको बताउनुभयो ।
मुन्धुम अध्येता भोगीराज चाम्लिङले जीवन, जगत् र समाजको मनोविज्ञान बुझेर लेखिएको साहित्य प्रभावकारी र कालजयी हुने धारणा व्यक्त गर्नुभयो । अनुवादक बलराम अधिकारीले अहिले विश्वमै डायास्पोरिक साहित्यप्रति आकर्षण बढेको बताउँदै पल्टनेको फोटोको अनुवाद अपरिहार्य रहेको बताउनुभयो ।
कवि तथा समालोचक सुरेश हाचेकालीले बदलिँदो सामाजिक सन्दर्भमा लैङ्गिक सम्बन्धलाई नयाँ कोणबाट हेर्दै कथाकार राईले डायास्पोरामा महिलाबाट पीडित पुरुषको भोगाइलाई पनि आफ्नो कथाविन्यासको अङ्ग बनाएको बताउनुभयो ।
कार्यक्रममा हरि गौतम, टीका चाम्लिङ र कैलाश राईले कथाकार रक्ष राई अब्बल कथाकार रहेको दाबी गर्नुभयो ।
खोटाङको बुइँपा पुख्र्यौली थातथलो भएका सेवा निवृत्त पूर्व ब्रिटिस सैन्य राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित हुनुहुन्छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष राई ‘नवचेतनाग्रह’, ‘डायास्पोरा सिद्धान्त’ र युद्धसौन्दर्य चिन्तन’का प्रर्वतक समेत हुनुहुन्छ ।
उहाँका यसअघि ‘शहीदकी आमाको लास’, ‘बालुवामा अर्को नेपाल’ (कथासङ्ग्रह), ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ र ‘पोएट इन किलिङ जोन’ (अङ्ग्रेजी कवितासङ्ग्रह), ‘डायास्पोरा सिद्धान्त र समालोचना’ तथा ‘नवचेतनाग्रह’ (सिद्धान्तपरक कृति) प्रकाशित छन् ।