• नमोबुद्ध संवाददाता

क्वालालम्पुर–रोजगारीको सिलसिलामा मलेसियालाई कर्मथलो बनाउँदै आएका काभ्रेलीहरुको छाता संस्था काभ्रे कल्याणकारी समाज मलेसियाले आफ्नो प्रथम अधिवेशनको तयारी थालेको छ ।

प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सव सांस्कृतिक कार्यक्रमसहित यहि आउदो २६ जनवरी आइतबार यहाँको होटल ग्राण्ड कन्टिनेन्टलमा भव्यरुपमा गर्ने गरी तयारी थालिएको हो ।

अधिवेशनको तयारी अन्तरगत स्थान छनौट,अतिथि निमन्त्रणा,संस्थामा आवद्धता तथा सदस्यता नविकरणका साथै प्रचारप्रसार एकसाथ थालिएको अध्यक्ष उर्गेन थोकरले जानकारी दिनु भयो ।

“मलेसियाका लागि नेपाली राजदुत महामहिम उदयराज पाण्डेज्युको प्रमुख आतिथ्यतामा अधिवेशन गर्ने भएका छौं । ऐतिहासीक रुपमा यसको आफ्नै गरिमालाई उचो बनाउनेगरी भव्य तयारी थालेका हौं ।”

अध्यक्ष थोकरले भन्नुभयो–“स्थापनाकाल देखिनै विभिन्न सामाजिक अभियानहरु चलाउँदै आएको यो संस्था यहाँका नेपालीहरुका साथै सिंगो काभ्रेलीहरुको सारथी बन्ने प्रयासमा छ ।”

कल्याणकारी समाज मलेसिया आगामी दिनहरुमा यहाँका अन्य संघ संस्थाहरूसँग अझै हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहने खालका नीति,कार्यक्रमका साथ अघि बढ्न चाहेको उहाँको भनाई छ ।

उहाँका अनुसार समाजले काभ्रे र अन्य जिल्लाबाट मलेसिया आएर अलपत्र परेका श्रमिकहरूलाई विभिन्न अप्ठ्याराहरुमा प्रशासनिक,आर्थिक,नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ ।

यस संस्थाले यहाँको कर्मभूमिका साथै काभ्रे जिल्लामा गरिबीको कारण उपचार गर्न नसकेका विभिन्न प्राण घातक रोगबाट थलिएकाहरू तथा आपतकालिन समस्यामा परेकाहरुलाई समेत सहयोग गर्ने गरेको छ ।

मलेसियामा रहेका स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतीसहित हुने अधिवेशनमा कर्मथलोका नेपालीहरु,मलेसियामा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारीहरु, बुद्धिजिवि, खेलाडी,समाजसेवी, पत्रकार, कलाकार लगायतको गरिमामय उपस्थिति रहने अपेक्षा संस्थाले गरेको छ ।

कल्याणकारी समाज मलेसिया ०१ जनवरी २०१८ मा थोकरको संयोजकत्वमा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस !