• नमोबुद्ध संवाददाता

चण्डेनी–काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं. १० चण्डेनी मण्डनका विभिन्न बस्तीलाई जिल्लाकै पहिलो स्वस्थ टोल(स्वस्थ समुदाय) घोषणा गरिएको छ ।

आवश्यक मापदण्डहरु पूरा भएपछि सोमबार एक समारोहका बीच नगरपालिकाका प्रमुख(मेयर) टोक बाहादुर वाइबाले यहाँका टोललाई स्वस्थ समुदाय घोषणा गर्नुभयो ।

मेयर वाइबाले जनता स्वस्थ नभएसम्म समृद्धिको कल्पना सम्म गर्न नसकिने धारणा व्यक्त गर्नुहुदै शारीरिक,मानसिक,बौद्धिक रुपमा जनताको स्वास्थ्य सवल बनाउने किसिमका कार्यक्रमहरु नगरपालिकाले समेत गर्दै आएको स्पष्ट पार्नुभयो ।

उहाँले स्थानिय फ्याफुल्ला खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गतका सेवा क्षेत्रहरु ज्यामिरे,श्रीचौर,नेपालथोक,चण्डेनी बजार,कोटथुम्का,सुलिकोट र तिनधारा लगायतका टोलहरुमा सञ्चालित नमुना स्वस्थ्य समुदाय कार्यक्रमले मुर्त रुप लिन थालेकोमा खुसी व्यक्त गर्नुभयो ।

पहिलो चरणमा सुलिकोट टोल,श्रीचौर टोल र नेपाल थोक टोललाई नमूना स्वस्थ्य टोल घोषणा गरिएको फ्याफुल्ला खानेपानी तथा सरसफाइ आयोजनाका संयोजक कुमार मोक्तान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ ६४ घरधुरी समाबेश छन् ।

संयोजक मोक्तानले भन्नुभयो–“मण्डन देउपुर नगरपालिका,एन्फो,शान्तिजनआदर्श सेवा केन्द्र लगायत सरोकारवाला निकायहरुले सरसफाइको स्थिति अनुगमन गरेपछि प्राप्त उपलब्धीको आधारमा नमूना स्वस्थ समुदाय घोषण गरिएको हो ।”

समुदायले शुद्ध खानेपानी, शौचालयको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ, र जोखिमपूण अवस्थामा साबुन पानीले हात धुने बानीव्यवहार अन्तरगतका १५ वटा सरसफाइ सूचकहरु पुरा गरेका छन् ।

नगरपालिकासँगको समन्वयमा वातावरण र जनस्वास्थ्य संस्था एन्फो र शान्ति जनआदर्श सेवा केन्द्रको सहयोगमा संचालित नमूना स्वस्थ समुदाय अभियानले समुदायमा सरसफाइ बानीव्यवहार परिवर्तन सम्बन्धी जनचेतना अभिबृद्धि गराएपछि यसखाले उपलब्धी हाँसील भएको संयोजक मोक्तानको भनाई छ ।

कार्यक्रमका विशेष अतिथि शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले स्थानिय सरकारको सहयोगीको रुपमा जनजीविकाको सवालमै यसखाले अभियान सञ्चालन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

जनताको आधारभूत आवश्यकता र अधिकारसँग जोडिएको यस्ता अभियान सञ्चालनपछि गतिलो उपलब्धी देखिएकोले स्वस्थ समुदाय घोषणा गरिएको उहाँको भनाई छ ।

जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको वर्ष वित्न लाग्दा पनि काभ्रेका अन्य स्थानिय तह भने स्थानियको स्वास्थ्य सरसफाईबारे मौन छन् एक प्रकारले लाचारनै छन् ।

यो सन्दर्भमा मण्डन देउपुरको ग्रामिण क्षेत्रमा भईरहेको यस खाले पहल कदमीलाई निकै सकारात्मक रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस !