• नमोबुद्ध संवाददाता

काठमाडौं–दक्षिण एसियाली खेलकुद(साग)मा नेपालको यात्रा ऐतिहासीक बन्ने लगभग पक्का छ । बुधबारबाट १ सय स्वर्णबाट यात्रा अघि बढेको छ ।

बुधबार तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक पाएसँगै नेपालको स्वर्ण पदकको यात्रा निरन्तर उकालो लागेको हो । उनले बुधबार ८७ केजी माथिमा पाकिस्तानका वकार अलिलाई पराजित गर्दै कार्कीले स्वर्ण दिलाउनुभएको हो ।

१९९९ मा काठमाडौंमा भएको सागको आठौं संस्करणमा सबैभन्दा बढी ३१ स्वर्ण जितेको नेपालले त्यसयताको ४ संस्करणमा २५ स्वर्ण जितेको थियो ।

बुधबार करातेमा अनुपमा महर्जन, उसुमा दीपक हमाल, तेक्वान्दोमा संगिता बस्याल र सक्षम तथा साइक्लिङमा राजेश मगर र निष्मा श्रेष्ठले सफलता हात पारेका हुन् ।

नेपालबाट तेक्वान्दोका दीपक विष्टले लगातार चार स्वर्ण हात पार्नुभएको छ । साथै बैकुण्ठ मानन्धर र आयशा शाक्यको नाममा समान ३ स्वर्ण जितेको रेकर्ड कायम छ ।

स्व. दलबहादुर रानामगर (बक्सिङ), राजुकाजी शाक्य र उमेश प्रधान (फुटबल), दीपक श्रेष्ठ (कराते), संगिना वैद्य (तेक्वान्दो), रेनुका मगर (तेक्वान्दो) र मण्डेकाजी श्रेष्ठ (कराते) ले पनि २,२ स्वर्ण जित्नुभएको थियो ।

१ सय स्वर्णमा नेपालले मार्शलआर्ट बाटै ७७ स्वर्ण जितेको छ। त्यसमा तेक्वान्दोले सबैभन्दा बढी ३५, करातेले ३०, उसुले ८ र जुडोले ४ स्वर्ण नेपाललाई दिलाएको हो ।

सन् १९८४ मा काठमाडौंबाटै सुरु भएको दक्षिण एसियाली महासंघ (साफ) को नामबाट सुरु भएको थियो । सन् २००४ मा पाकिस्तानको नवौं संस्करणबाट सागको पहिचान पाएको दक्षिण एसियाको ओलम्पिक मानिने सागको यो १३ औं संस्करण हो ।

म्याराथन धावक बैकुण्ठ मानन्धरले नेपाललाई यसको ईतिहासमै पहिलो स्वर्ण दिलाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !