-
नमोबुद्ध संवाददाता
बनेपा–आहाना नेपाल फाउण्डेशनले काभ्रेको डाँडापारी क्षेत्र अन्तरगत महाभारत गाउँपालिका–७ स्थित बनखु निवासी ७६ वर्षिया मोतिविन्दु पीडित लाल कुमार लो तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
फाउण्डेशनको तर्फबाट समाजसेवी अविरल जिम्बाले हालै मोतिविन्दु पीडित तामाङलाई आँखाको शल्यक्रियाको लागि सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
समाजसेवी जिम्बाको विशेष पहल तथा भिम तामाङ, टेक बहादुर तामाङ, चन्द्रकला राई, कमला तामाङ र कृष्ण तामाङको सक्रियातामा फाउन्डेशनले जुटाएको सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी जिम्बाले दुवै आँखाको शल्यक्रियाको लागि आर्थिक समस्याका कारण शल्यक्रिया हुन नसकेको थाहा पाएपछि पीडित तामाङलाई आर्थिक रुपमा सहयोग गरेको बताउनुभयो ।
‘आर्थिक अभावको कारण शल्यक्रियामा ढिलाई भएको खबर पाएपछि मैले केही सहयोगको लागि पहल गर्ने बचन दिएको थिएँ, त्यही बचन अनुसार आँखाको शल्याक्रियाको लागि हामीले सहयोग गरेका हौँ ।’ जिम्बाले भन्नुभयो ‘आगामी दिनमा पनि मोतिविन्दु भन्दा जटिल एंव प्राणघातक रोग लागेको तर आर्थिक अभावको कारण उपचार गर्न नसकेको जुनसुकै पीडितलाई पनि सहयोग गर्ने हाम्रो अभियान रहेको छ ।’
यसअघि पनि विभिन्न रोगका पीडितहरुलाई सहयोग गरिसकेको बताउँदै उहाँले पीडितहरुको आर्थिक अवस्थाको पहिचान गरेर मात्रै सहयोग गर्ने गरेको पनि प्रष्ट पार्नु भयो । साथै समाजसेवी जिम्बाले व्यक्तिगत रुपमा पनि पीडित तामाङलाई आर्थिक सहयोग गर्नुभयो ।
पीडित तामाङलाई काभ्रेको बनेपामा रहेको रेयूकाई एईको मासुनागा आँखा अस्पताल चेकजाँच गराउँदा दुवै आँखामा मोतिविन्दु देखिएको थियो ।