• नमोबुद्ध संवादादाता

चौरीदेउराली–काभ्रेको कोशीपारी क्षेत्रको चौंरीदेउराली गाउँपालिका ५ मा १५ शैयाको सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य थालिएको छ । ३ नम्बर प्रदेश सरकारको योजना अन्तरगत स्थानिय तहमा पहिलो अस्पतालको निर्माण थालिएको हो ।

१६ रोपणी क्षेत्रमा फैलिने यो अस्पताल दुई वर्षमा बनिसक्ने प्रदेश सांसद रत्न ढकालले जानकारी दिनुभयो । अस्पताल निर्माण थालिएको खुसीयालीमा सोमबार स्थानियले बाजागाजा र नाचगान सहितको र्याली निकाले ।

सांसद ढकालको पहल तथा अनुरोधमा करीव ७ करोड बजेट विनियोजन गरेका सामाजिक विकास मन्त्री युवराज दुलाल स्वयम्ले अस्पताल निर्माणको शिलान्यास गर्नुभयो ।

खुसीयाली मनाउँदै गरेका स्थानियमाझ मन्त्री दुलालले भन्नुभयो–“राजनीतिक क्रान्ती पूरा भइसक्यो,अब विकास र समृद्धिको युग सुरु भयो,राज्यको स्रोत र साधनको न्यायोचित वितरण अन्तरगत आवश्यकताकै आधारमा यहाँ अस्पताल बन्न लागेको हो ।”

प्रदेश सरकारले गत वर्षनै बनाएको योजना यो वर्षबाट मात्रै सुरु गर्न सम्भव भएको जानकारी दिनुहुदै उहाँले विभिन्न स्थानिय तहमा १८ वटा अस्पताल बनाउने प्रदेश सरकारको योजनाको सुरुवात चौंरीदेउरालीबाट गरिएको स्पष्ट पार्नुभयो ।

“एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गर्दा यसरीनै सरकार योजनाबद्ध रुपमा रणनीतिक र दिर्घकालिन आयोजनाका साथ अघि बढेको स्पष्ट पार्न चाहन्छु,सरकार के गर्दैछ भन्नेहरुका लागि यो गतिलो जवाफ हो ।”

प्रदेश सांसद ढकालले केहि ठूला रोगले च्याप्ने वित्तिकै घण्टौंको बाटो पार गर्दै सदरमुकाम वा काठमाडौं पुग्नै पर्ने बाध्यताको अन्त्य गर्न गाउँमै अस्पताल निर्माणको अवधारणा पलाएको बताउनुभयो ।

नागरिकलाई सहजै स्वास्थ्य सेवाको पहुंचसँग जोड्नयस्ता विकास निर्माण आवश्यक रहेको जनाउँदै उहाँले यस्तै अस्पताल काभ्रेको अरु विकट क्षेत्र डाँडापारी पनि बन्ने जनाउ दिनुभयो ।

गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले यसरीनै स्थानिय सरकार प्रदेश सरकार र संघ सरकारसँग मिलेर जाँदा निकै उपलब्धीहरु हाँसील हुने बताउनुभयो ।

धुलिखेल निर्माण सेवाका सञ्चालक तथा निर्माण व्यवसायी टंक चौलागाईंले अस्पताल निर्माण तोकिएको समयमै सकाउने प्रतिवद्धता जनाउनुभयो ।

अस्पताल बनेपछि एमविविएस डाक्टर १ जना, एचए २ जना, स्टाफ नर्स ३ जना, अनमी २ जना, एएचडब्लु ३ जना, रेडियोग्राफर १ जना र ल्याव टेक्निसियन १ जनाको टोली स्थानियको स्वास्थ्य सेवा खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस !