-
नमोबुद्ध संवाददाता
काठमाडौं–कवि सुन्दर कुरूपको कविता संग्रह ‘पृथ्वीको आविष्कार’ सोमबार सार्वजनिक गरिएको छ । अनामनगरस्थित मण्डला थियटरमा आयोजित एक समोरोहकाबिच यो कृतिको नेपाल प्रज्ञा– प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले विमोचन गर्नुभयो ।
कृति विमोचन कार्यक्रममा काइँलाले सुन्दरका कवितामा विभिन्न राजनीतिक र सामाजिक उतारचढावहरूको मार्मिक प्रस्तुति रहेको जिकिर गर्नुभयो ।
सिर्जनशील अराजकताका अभियन्ता समेत रहेका कवि हाङ्युग अज्ञातले नेपाली कविहरूले विज्ञानसम्मत कुराहरू लेख्नुपर्नेमा जोड दिँदै त्यसमा मौलिकतालाई समेत जोड्नुपर्ने तर्क गर्नुभयो ।
उहाँले नेपाली मिडियाको वैचारिक धारसँग मिल्ने बाहेकका कविताहरू प्रकाशित गर्न अझै पनि गाह्रो अवस्था रहेको भन्दै यस सन्दर्भमा मिडियामा अप्रकाशित कवि सुन्दरका कविता संग्रह प्रकाशित हुनुलाई सकारात्मक पहलका रूपमा लिनुपर्ने बताउनुभयो ।
मानुषी यमी भट्टराईले कवि सुन्दरका कविताहरू राजनीतिज्ञले पढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा कवि सुन्दरले कविता संग्रहबारे बोल्दै ग्रामीण परिवेश नै आफ्नो कविताको स्रोत भएको बताउनुभयो ।
‘पृथ्वीको आविष्कार’ कृति सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।