
-
नमोबुद्ध संवाददाता
धुलिखेल–काभ्रेको कोशीपारी क्षेत्रको भुम्लु गाउँपालिका १ सापिङमा ‘प्रथम मुलखर्क भिमसेनस्थान सांस्कृतिक महोत्सव’ हुने भएको छ । यहि कात्तिक २२ र २३ गते हुने महोत्वसको तयारी सुरु भएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ठूलो एकादशीको अवसरमा मुलखर्क भिमसेनस्थानको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसाथ यो महोत्सवहुन लागेको आयोजक समिति संयोजक अनिल बुढाथोकीले बताउनुभयो ।
भुम्ल गाउँपालिका प्रवद्र्धक रहने महोत्सव काभ्रे एकिकृत विकास समाज नेपाल,मलिलो कृषि सहकारी संस्था,भिमसेनखर्क सामुदायिक युवा क्लव,उर्लेनी मुलखर्क सामाजिक युवा क्लव र सापिङ युवा क्लवको संयुक्त आयोजनामा हुने भएको हो ।
महोत्सवको तयारी अन्तरगत प्रचारप्रसार,अतिथि निमन्त्रणा,स्टल व्यवस्थापन,होमस्टे,स्वयमसेवक आह्वान लगायतको कार्य सुरु भएको संयोजक बुढाथोकीले जानकारी गराउनुभयो ।
बुढाथोकीले भन्नुभयो–“हामी ऐतिहासीक महत्व बोकेको यो ठाउँलाई चिनाउन चाहन्छौं,त्यसैले स्थानिय सरकार,संघसंस्था लगायत मिलेर निस्वार्थ रुपमा यो महोत्सव गर्न लागेका हौं ।”
उहाँका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीका साथै स्थानिय मौलिक जातीय संस्कृति झल्कने गतिविधिहरु हुनेछन् । स्थानिय कृषि उपज,उत्पादन सामाग्री,खाना परिकार,भेषभूषासहितको बाँसका ५० वटा स्टलहरु रहने छन् ।
आयोजकका अनुसार महोत्सव सफल बनाउन स्थानिय महिला समूहहरुसँग सहकार्यका साथै कम्तीमा १ सय जनाको संख्यामा स्वयम्सेवकहरु परिचालन गरिनेछ ।
महोत्सवताका स्थानिय भिमसेनस्थानको मेला पर्ने भएकोले पनि महोत्सव दश हजारले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।
महोत्सवको आउँदो शुक्रबार विहान १० बजे प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुहुनेछ ।