-
नमोबुद्ध संवाददाता
बनेपा–काभ्रेको बनेपा नगरपालिकाले नगर भित्रको फोहोरमैला व्यवस्थापन गर्न जापानिज प्रविधि सहितको हिटा कम्पनीको साथ पाउने भएको छ ।
लामो अनुसन्धानपछि सो कम्पनीले बनेपाको फोहोर व्यवस्थापनका लागि एफ वान मोडलको धुँवा रहित चिम्नीको प्रयोग उपयुक्त हुने निश्कर्ष दिएअनुसार नगरपालिका यो टुंगोमा पुगेको छ ।
मध्यपहाडको व्यापारिक केन्द्र बनेपामा फोहोर व्यवस्थापन मुख्य चुनौती रहेको सन्दर्भमा शुक्रबार जिल्ला समन्वय समिति काभ्रेको हल धुलिखेलमा भएको सर्वपक्षिय भेलाबाट नगरपालिकाले फोहोर तह लगाउन हिटा कम्पनीसँग सहकार्य गर्ने टुंगो लगाएको हो ।
नगरपालिकाले फोहोर मैला ब्यवस्थापनमा अपनाउन लागेको विधी र प्रकृयाका बारेमा समेत जानकारी गराईएको छ ।
जिल्ला समन्वय प्रमुख उद्धव केसीको संयोजकत्वमा भएको सर्वपक्षिय भेलाले जापानिज प्रविधिको फोहोर जलाउने मेशिन बनेपा नगरपालिका वडा नम्वर ९ स्थित कृषि फर्ममा राख्ने निर्णय गरेको छ ।
भेलामा हिटा ग्रुप प्रालि नेपालका प्रमुख ग्याल्पो लामाले धुँवा रहित चिम्नीको उपयोगिताबारे जानकारी गराउनुभयो । २ सय सेन्टिमिटर लम्बाई, २० फिट उचाई, १५० सेन्टिमिटर चौडाई र १ हजार ५ सय किलो वजन भएको एफ वान मोडलको चिम्नी नेपालमै पहिलो हुने र यो सफल हुने प्रमुख ग्याल्पो लामाको दावी छ ।
यो क्षमताको मेशिनले प्रति घण्टा ३०–४० किलो, प्रति दिन १० घण्टामा ३ सय देखि ४ सय किलो फोहोर जलाउन सकिने उहाँको भनाई छ ।
फलाम र शिसा बाहेक सबै प्रकारका बस्तुहरु जलाउन सकिने जानकारी दिदै उहाँले प्रदुषण रहित, धुँवा रहित, ध्वनी रहित,छिटो जल्ने, त्यसबाट निस्किएको पानी पनि प्रदुषित नहुने दावी गर्नुभयो ।
बनेपा नगरपालिकामा दैनिक ७–८ टन फोहोर संकलन हुने भएकाले ठुलो साईजको मेशिन ल्याउने तयारी गरिएको नगर प्रमुख लक्ष्मीनरसिं बादेले जानकारी दिनुभयो ।
जलेको फोेहोरबाट निस्केको खरानीले ब्लक तथा टायल निर्माण र तरकारी खेतिका लागि उपयुक्त हुने कम्पनीको दावी छ ।