• नमोबुद्ध संवाददाता

काठमाडौं–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘समृद्घ नेपाल सुखी नेपाली’ बनाउने योजना मुताविक देश कुनै अलमलबिना सुशासनको बाटोमा हिँडिरहेको बताउनुभएको छ । उहाँले विविध चुनौतीकाबिच अनियमितता,ढिलासुस्तीको चिरफार गर्दै,आवश्यक कानुन,नीति तर्जुमा गर्दै संघीय सरकार,प्रदेश सरकार र स्थानिय सरकार अघि बढिरहेको दावी गर्नुभएको हो ।

बुधबार राजधानीमा भोजपुरे सेवा समाज, काठमाडौँले आयोजना गरेको देउसी, भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै प्रमूख अतिथि मुख्यमन्त्री राईले आफ्नो प्रदेशले पनि स्वच्छ, सुखी र समुन्नत प्रदेशको लक्ष्य लिएर सोही अनुसार काम गरिरहेको बताउनुभयो । उहाँले यात्राको गति अलि धीमा भएपनि कानून र प्रशासनिक संरचना निर्माणमा समय लागेकाले यसलाई अन्यथा रुपमा लिननहुने जिकीर गर्नुभयो ।

समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गरेर प्रदेशमा समृद्घि ल्याउने पनि बताउनुभयो । यसका लागि आफूहरुले कानुन निर्माण गरिसकेको पनि जानकारी गराउनुभयो ।

उहाँले विश्वमा जहाँसुकै वसेका भएपनि भोजपुरवासीले आफूले सिकेको सीप प्रदेश १ निर्माण र देश निर्माणमा लगाउन आह्वान गर्नुभयो । मुख्यमन्त्री राईले भोजपुरमा पनि विस्तारै मध्यपहाडी राजमार्ग कालोपत्रे गर्ने र विमानस्थल–भोजपुर मार्ग कालोपत्रे गर्ने काम भैरहेको बताउनुभयो ।

त्यस्तै, भोजपुरमा रंगशाला, टेम्केमा भ्यूटावर निर्माण, अरुण, दूधकोशी आदि नदीमा भोजपुर जोड्ने ठूला पुलका योजना रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा नेता प्रदीप नेपाल, मुकुन्द न्यौपाने, पूर्वमन्त्री शंकरप्रसाद कोइराला, नेकपा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, समाजका पूर्व अध्यक्ष दयाकृष्ण न्यौपाने, समाजका अध्यक्ष शेर्पालगायतले आउन लागेका तिहार, छठ, नेपाल संवतको नयाँ वर्ष, उधौली र ल्होसार आदिको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा कलाकार व्रत गन्धर्वले सारंगी धुनसहित गीत प्रस्तुत गर्नुभएको थियो भने कलाकार राजा राजेन्द्र पोखरेल, श्रीकृष्ण सिंखडाले हास्यव्यंग्य, गायक कृष्ण समीप, गायिका लीला राई, गायक भीषण मुकारुङ र राज सागरआदिले गीत तथा विभिन्न कलाकारहरुले आकर्षक देउसी–भैलो प्रस्तुत गरी समारोहलाई पूर्वेली लोकसंस्कृतिले उल्लासपूर्ण बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस !