लुङबाले भन्नुभयो–“यहाँहरुको साथप्रति नमन गर्न चाहन्छु,यत्तिबेला खुट्टा तान्न खोज्नेहरुलाई पनि सम्झीन चाहन्छु र मैले यो क्षेत्रमा पनि राम्रो काम गरेरै तिनीहरुलाई जवाफ दिनेछु ।”

  • नमोबुद्ध संवाददाता

भक्तपुर–यसअघि तामाङ चलभित्रको पर्दामा देखिने नायिका सुनिता लुङ्बा आफ्नो गायकीका साथ प्रस्तुत हुनुभएको छ । उहाँको ‘गाउन मन लाग्यो’ सेलो गीत र भिडियो विहीबार सुर्यविनायकमा आयोजित एक समारोहकाबिच सार्वजनिक गरिएको छ ।

नायिका लुङ्बाको यो गीतको भिडियो विमोचन तथा सार्वजनिक गर्नुहुदै काभ्रेको रोशी गाउँपालिका प्रमुख एवम् समाजसेवी डिवी(दलबहादुर मोक्तान) ले लुङबाको प्रवेशले तामाङ गीत संगीतको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भौगोलिक रुपमा जो जहाँ भएपनि आ–आफ्ना क्षेत्रबाट समुदायको भाषा,कला,साहित्य र संस्कृतिको विकासमा भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । तामाङ चलचित्रका निर्माता र कलाकार समेत रहनुभएका अध्यक्ष मोक्तानले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

आफू स्थानिय सरकार प्रमुख भएको अवस्थामा पदीय मर्यादा र गरिमालाई ख्याल गरी सबै समुदायको उत्थानमा काम गरेपनि आफ्नो पहिचानप्रति व्यवहारिक रुपमा समेत सदैव सचेत रहेको कार्यक्रमका प्रमुख अतिथि रहनुभएका मोक्तानले बताउनुभयो ।

सिन्धुली र काभ्रेको सिमानामा निर्माण गरिएको स्वयम्भू,नमोबुद्धसहितको स्वागतद्धार,बुद्ध मुर्ति निर्माण,ल्होछारमा पहिलो पटक तीन दिन सार्वजनिक विदा दिने चलन र विश्वकै ध्यान आकृष्ट गर्ने डम्फू पार्कको निर्माण थालनी यसको उदाहरण भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले आफ्नो समुदायको विकासमा राजनीतिक पुर्वाग्रह नसाँच्न तामाङका जातिय संस्थाहरुलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो–“हामीमा राजनीतिक संस्कार भएन,आफ्नो समुदायको साझा एजेन्डाहरुमा एक ठाउँमा उभिने परिपाटीको विकास गराउनुपर्छ,कुनै पनि समुदायको अस्तीत्व तिनका संस्कृतिसँग जोडिएको हुन्छ,यो सन्दर्भमा तामाङ घेदुङ जस्ता छाता संस्था हामीले थालेको काममा साथ दिन किन अन्कनाईरहेका छन् ?”

कार्यक्रममा तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईबा र कलाकार एवम् तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जनले तामाङ गीत संगीतको मौलिकता भुल्न नहुनेमा जोड दिनुभयो । उहाँहरुले पनि मौलिकता हराए अस्तीत्व लोप हुनेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

पछिल्लो समय सिमित स्रोत र साधनको अधिकतम प्रयोग गरी तामाङ सांगीतिक क्षेत्रमा राम्रा र आशालाग्दा प्रगतीहरु भईरकोमा लुङ्बाको यो प्रयासलाई पनि एक मान्न सकिने उहाँहरुको भनाई छ ।

‘गाउन मन लाग्यो’ सेलो गीतमा आवाज र भिडियोमा मोडलिङ गर्नुभएका लुङबाले आफू गायकीमार्फत तामाङ सेलो गीत संगीतमा पनि जम्ने दृढता व्यक्त गर्नुभयो ।

तामाङ कलाकार एकतामा जोड दिदै उहाँले भन्नुभयो–“यहाँहरुको साथप्रति नमन गर्न चाहन्छु,यत्तिबेला खुट्टा तान्न खोज्नेहरुलाई पनि सम्झीन चाहन्छु र मैले यो क्षेत्रमा पनि राम्रो काम गरेरै तिनीहरुलाई जवाफ दिनेछु ।”

यस अघि ‘जोवन खत्रा’,‘जान्न त भन्ने मैच्याङको कुरा’ लगायतका गीतमा समेत स्वर दिईसक्नुभएका लुङबाले ‘गाउन मन लाग्यो’ गीत र भिडियोमा सक्दो मिहेनत गरेको उल्लेख गर्नुभयो ।

२०६९ देखी चलचित्र कलाकारिता थाल्नुभएका लुङबाले दर्जन चलचित्र र आधादर्जन बढि म्युजिक भिडियोमा मोडलिङ गरिसक्नुभएकोमा दुई वर्षयता भने सांगीतिक क्षेत्रमा पनि हात हाल्नुभएको हो ।

साङ्गे ब्लोनको शब्द ‘गाउन मन लाग्यो’ मा विश्व दोङले संगीत दिनुभएको हो । सुर्य लामाको क्यामेरामा अनुभवी कलाकार एवम् तामाङ चलचित्रका नायक सन्दीप स्याङतान र लुङ्बालाई प्रतिक ङेसुरले आफ्नो निर्देशनकलामार्फत फिचरांकन गराउनुभएको छ ।

भक्तपुर तथा रामेछापका विभिन्न रमणीय दृश्यहरुको पृष्ठभूमिमा खिचिएको भिडियोलाई दर्शकले रुचाउने व्यानर जिग्मे मिडियाको विश्वास छ ।

भिडियोसहित हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस !