नमोबुद्ध संवाददाता

तेमाल–काभ्रेको तेमाल गाउँपालिकाले मंगलबारबाट गाउँपालिकाभित्र छुटिएका तथा नयाँ थप भएका अपांगता भएकाहरुको वर्गीकरण गरी धमाधम परिचप पत्र दिन थालेको छ ।

बुधबारसम्म वडा नं. १,२,३ र ४ मा अपांगता भएकाहरुको वर्गीकरण तथा उनिहरुलाई परिचयपत्र वितरण सकिएको छ ।

गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेल,स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक,स्थानिय वडा अध्यक्ष तथा सदस्यहरुको टोलीले सम्बन्धित वडा कार्यालयमा अपाङ्गता वर्गीकरणका साथै परिचय पत्र वितरण गरिरहेको हो ।

विहिबार वडा नं. ५ नारायणस्थान र वडा नम्बर ६ ठूलो पर्सेलमा अपांगता वर्गीकरण तथा परिचयपत्र वितरण गरि पहिलो चरणको कार्यक्रम सकाउने गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिनुभयो ।

यसखाले कार्यक्रमबाट अपांगता भएकाहरुको वास्तविक स्थितिको पहिचान हुनुका साथै तिनको संरक्षण तथा उपचारमा तदारुकता आउने गाउँपालिका अध्यक्ष सलाम सिं तामाङको भनाई छ ।

जन्मजात वा प्राकृतिक तथा दैविक प्रकोपबाट भएको अपांगताको आधारमा अपांगता परिचयपत्र दिने गरिन्छ ।

अहिलेसम्म तेमालका कुन–कुन वडामा कत्तिले पाए अपांगता परिचय पत्र ?

  वडा नम्बर १ सस्र्युंखर्क

वडा नं. १ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठका अनुसार मंगलबार वडा नम्बर १ मा १९ जना अपांगता भएकाहरुले परिचय पत्र प्राप्त गरे ।

यहाँ ‘क’ वर्गको अपांगता भएका कोही भेटिएनन् । ‘ख’ वर्गका २ जना, ‘ग’ वर्गका १२ जना र ‘घ’ वर्गका ५ जनाले परिचय पत्र पाए ।

वडा नम्बर २ चुखा

वडा नं. २ मा २४ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको वडा अध्यक्ष तिमाल सिं तामाङले जानकारी दिनुभयो ।

यहाँ ‘क’ वर्गका १ जना, ‘ख’ वर्गका ९ जना, ‘ग’ वर्गका १० जना र ‘घ’ वर्गमा ४ जना भेटिए ।

वडा नम्बर ३ सरमथली

वडा नं. ३ सरमथलीमा ११ जना अपांगता भएका व्यक्तिहरुलाई बुधबार परिचयपत्र वितरण गरेको वडा अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वडामा ‘क’ वर्गको १ जना, ‘ख’ वर्गको ६ जना, ‘ग’ वर्गको ३ जना, ‘घ’ वर्गमा १ जनाले परिचयपत्र पाएका छन् ।

वडा नम्बर ४ बोल्दे

वडा नंं. ४ बोल्देमा १० जनाले अपांगता परिचय पत्र पाएका छन् । अध्यक्ष आसपुर तामाङका अनुसार यो वडामा पनि थप ‘क’ वर्गको अपांगता परिचय पत्र पाउने कोही भेटिएनन् ।

यहाँ ‘ख’ वर्गको ३ जना, ‘ग’ वर्गको ४ जना र ‘घ’ वर्गको ३ जनाले परिचय पत्र पाएका छन् ।

कुन वर्गले कस्तो सेवा सुविधा पाउँछन् ?

‘क’ वर्ग

जो व्यक्तिले हातगोडा चलाउन सक्दैनन्,ह्वीलचियरमा राखेर आउजाउ गर्नुपर्ने तथा स्याहार सुसारमा अरुको साथ अनिवार्य जस्तै आवश्यक हुन्छन् ।

यस प्रकृतिको अपांगता भएका व्यक्तिले ‘क’ वर्ग (रातो रंग)को परिचय पत्र पाउँछन् र नेपाल सरकारबाट मासिक ३ हजार भत्ता पनि पाउँछन् ।

‘ख’ वर्ग

गोडा नचल्ने तर हात चल्ने र कुरा बोल्न सक्नेले ‘ख’ वर्गको (निलो रंग)को परिचय पत्र पाउँछन् र नेपाल सरकारबाट मासिक १६ सय भत्ता पनि पाउँछन् ।

‘ग’ वर्ग

एउटा हात वा गोडा नचल्ने,आँखा नदेख्ने व्यक्तिले ‘ग’ वर्गको (पहेंलो रंग)को अपांगता परिचयपत्र पाउँछन्, यस प्रकृतिका अपांगता भएका व्यक्तिले नेपाल सरकारबाट स्वास्थ्य सेवा तथा सम्बन्धित क्षेत्रबाट यायायातमा हदै छुट पाउँछन् ।

‘घ’ वर्ग

मुख खोंडे,कान नसुन्ने व्यक्तिले ‘घ’ वर्गको (सेतो रंग)को अपांगता परिचय पत्र पाउँछन्,यस प्रकृतिका अपांगता भएका व्यक्तिले सरकारबाट स्वस्थ्य सेवा तथा सम्बन्धित क्षेत्रबाट यातायात भाडामा हदै छुट पाउँछन् ।

प्रतिक्रिया दिनुहोस !