-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालबाहिर नेपाली साहित्य शक्तिशाली रहेको बताउनुभयो ।
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समिति र नेपाल शाखाले आयोजना गरेको ‘काव्य विमर्श तथा कवि गोष्ठी’ कार्यक्रममा उप्रेतीले भन्नुभयो–“नेपाली आवाज र सामथ्र्यलाई विश्वमा प्रवासी नेपाली स्रष्टाहरुलेनै पुर्याईरहनुभएको छ,भौगोलिक रुपमा आफ्ना माटोभन्दा अलि टाढा रहेका उहाँहरुको क्रियाशिलता हेर्दा नेपाल बाहिर नेपाली सहित्य निकै शक्तिशाली देखिन्छ ।”
प्रवासमा उल्लेखनिय काम गर्नेहरूको सुचना आफुले राखेको उल्लेख गर्दै उहाँले ति व्यक्ति तथा संस्थाहरुसँग साझेदारीको रूपमा काम गर्ने जानकारी दिनुभयो ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले विश्वमा रहेका नेपालीहरूले नेपाली भाषा साहित्यसँग नजिक रहेर काम गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा महासंघको प्रकाशन ‘साहित्य संसार’ पुस्तक विमोचन गरिएको थियो । त्यसपछि प्रा.डा. टङ्कप्रसाद न्यौपाने, मनप्रसाद सुब्बा र भीम विरही राईलाई साहित्यदूत सम्मान अर्पण गरिएको थियो ।
विश्व नेपाली साहित्य महासंघले प्रदान गर्दै आएको साहित्यदूत कञ्चनजंगाबाट सम्मानीत प्रा.डा. न्यौपानेले मान्छे जहाँ गएपनि भाषा र साहित्य त्यही जाने भएकोले विश्वमा छरिएर रहेका साहित्यकारहरूलाई एकजुट बनाएर साहित्यको उन्नति गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले पश्चिमी भाषा साहित्यको अनुशरण नगरी साहित्य सिर्जना नहुदा आफ्नो भाषा र साहित्य ओझेल पर्दै गएको टिप्पणी गर्नुभयो ।
उहाँले भाषा र साहित्य जोगाउदै लैजाने क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा सीता तुम्खेवा, रमी श्रेष्ठ, समाश्री रावत, प्रगति राई, सीता भटराई, उर्मिला पाण्डेय, प्राज्ञसभा सदस्य नन्दु उप्रेती, एलाक अभियान्ता डम्बर पहाडी, भावना न्यौपानेलगायतले कविता वाचन गर्नुभयो ।
कार्यक्रममा महासंघका साहित्य संचार संयोजक रमेश कँडेलले स्वागत मन्तव्य र सल्लाहकार सागर श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।