• नमोबुद्ध संवाददाता

सिन्धुलीमाढी–जनजाति महासंघ ३ नम्बर प्रदेश अधिवेशनको तयारी स्वरुप सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहमा नेपाल आदिवासी जनजाति महासंघको समन्वय परिषद गठन भएको छ ।

आउँदो असोज ४ र ५ गते सिन्धुलीमाडीमा हुने प्रदेश नं. ३ को प्रथम अधिवेशनलाई लक्षित गरी महासंघ गठनको अभियान सञ्चालन गरेको महासंघ सिन्धुलीले जनाएको छ ।

अभियान अन्तर्गत भदौ १६ गते घ्याङलेख गाउँपालिकाको अधिवेशनले अबिनाश वाईवाको अध्यक्षतामा, भदौ १७ गते मरिण गाउँपालिकाको अधिवेशनले शम्भु माझीको अध्यक्षतामा र भदौ १७ गते हरिहरपुरगढी गाउँपालिकामा भएको अधिवेशनले निरेश मोक्तानको अध्यक्षतामा गाउँपालिका समन्वय परिषद गठन गरेको हो ।

त्यस्तै भदौ १० गते दुधौली नगर अधिबेशनले गान्धी मगरको अध्यक्षतामा, भदौ २० गते तिनपाटन गाउँपालिका अधिवेशनले चुलबहादुर पुलामी (सरोज), भदौ २२ गते गोलन्जोर गाउँपालिका अधिबेशनले सिताराम थापा मगरको अध्यक्षता र भदौ २३ गते फिक्कल गाउँपालिकाको अधिवेशनले बिष्णु सुनुवारको अध्यक्षतामा समन्वय परिषद गठन गरेको ३ नं. प्रदेश संयोजक काजीमान थिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३ नं. प्रदेशभित्रका काभ्रे लगायतका जिल्लाका स्थानिय तह र जिल्ला तहको अधिवेशन पनि सम्पन्न भएको छ ।

संघीयता र संविधानको मर्म विपरित समानुपातिक, समावेशी, सामाजिक न्याय र धर्मनिपेक्षाको मन्यता विपरित सरकारले कार्य सञ्चालन गरेको भन्दै आदिवासी अधिकारका अभिन्ताहरुले आक्रोश व्यक्त गरिरहेका बेला आदिवासी जनजातिहरुको ३ नं. प्रदेशको अधिवेशनको तयारी भईरहेको हो ।

३ नं. प्रदेशका संयोजक थिङले सम्बृद्ध नेपाल र सुखी नेपालीको नाराभित्र खुशी नेपाली हुन आवश्यक रहेको बताउनु भयो । “सवै समुदाय खुशी भए मात्रै सुखी र देश सम्बृद्धि हुन्छ” थिङले भन्नुभयो “उत्पीडित उपेक्षित समुदायको हक अधिकार खोसेर सरकारले देशलाई एकात्मक र प्रतिगमन तिर लगेको छ,यसमा खवरदारी आवश्यक ठानेका छौं ।”

‘समाजिक मुद्दा सहित राजनीतिक जागरण, पहिचान सहितको सम्बृद्धिका लागि प्रदेश नं. ३ लाई नेवाः ताम्सालिङ नामकरण’ भन्ने मूल नाराका साथ महासंघको ३ नं. प्रदेशको प्रथम अधिवेशन असोज ४ र ५ गते सिन्धुलीमा हुने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार अधिवेशनमा १३ जिल्ला, स्थानीय तह समन्वय परिषद र ३५ भन्दा बढी सदस्य संगठनका दुई सय पचास भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने छ ।

अधिबेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयन गर्नुका साथै नीति कार्यक्रमहरु पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस !