-
नमोबुद्ध संवाददाता
धुलिखेल– गएरातिदेखीको अविरल वर्षापछि गएको पहिरोले काभ्रेमा एकको ज्यान गएको छ भने दर्जनौं घरमा संरचना क्षति पुग्नुका साथै मुख्य राजमार्ग अरनिको राजमार्गको पाँचखाल,दोलालघाट खण्ड,विपी राजमार्गको रोशी खण्ड नै पहिरोले अवरुद्ध हुन पुगेको छ ।
मंगलबारदेखिको वर्षापछि बुधबार बिहान पहिरोले पाँचखाल नगरपालिका वडा नं. ४, फेदीका टेक बहादुर तामाङको घर पुरिदा ४ वर्षीय छोरा सज्जन तामाङको मृत्यु भएको छ ।
पहिरोको आएको बेलामा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिनुभयो । तामाङको स्थायि घर भने मण्डन देउपुर नगरपालिका रहेको खुल्न आएको छ ।
घटना भएको थाहा पाउनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीलाई खबर गर्दै मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा घट्नास्थलमा पुग्नुभएको थियो ।
नगरप्रमुख वाईबाका अनुसार गाउँका सडकहरु भासिएर क्षति भएको छ,फेदीमा रहेका २ वटा किराना पसल उच्च जोखिममा छ । उनिहरुलाई उच्च सुरक्षा सर्ताकता अपनाउन सहजिकरण गरिरहेको उहाँले जानकारी दिनुभयो । आफ्ना निर्वाचन क्षेत्रभित्र यस्तो विपद् आएपछि प्रदेशसभा सदस्य लक्ष्मण लम्साल पनि साथ दिन पुग्नुभएको थियो ।
लम्सालका अनुसार स्थानिय,स्थानिय सरकार,रेड्क्रस,प्रहरीसँगको समन्वयमा उद्धारका काम भएको छ । रेडक्रस मार्फत प्रारम्भिक राहत सामाग्री समेत वितरण भएको उहाँले बताउनुभयो ।
यस्तो बेला जनताले जनप्रतिनिधि पाएकोले बेलैमा उद्धार,राहत व्यबस्था र सतर्कता अपनाउनमा सहजता आएको छ ।
जनप्रतिनिधिकै मातहतमा स्थानिय स्तरमा विपद् व्यवस्थापन समिति हुनुका साथै विभिन्न क्षेत्रसँग समन्वयको वातावरण तत्काल बन्ने हुदा जनताले सरकारको अनुभुति पाउन थालेका हुन् ।
काभ्रेको तेमाल र खानीखोलामा विद्यालय समेत क्षति
पहिरोमा परि काभ्रेको तेमाल गाउँपालिका वडा नं १ को जनचेतना उच्चमाविको भवन जोखिममा परेको छ । अगान र शौचालय बगाएको तथा माथिबाट ढिस्को खसेकोले एकापट्टिको भवन सार्नुपर्ने अवस्था आएको जनाईएको छ ।
तेमाल १ लामागाउँका बिष्णु नेपालीको घर पुर्ण रुपमा क्षति हुनुका साथै एउटा बाख्रा समेत पुरिएको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले स्वयम् आफ्नो घर समेत क्षति भएको बताउनुभयो । साथै स्थानिय टिका बहादुर श्रेष्ठको घरको पनि आँगन भत्केपछि उच्च जोखिममा रहेको छ भने खानीगाउँको ताराबहादुर राना मगर र दुर्गाबहादुर रानामगरको घर भत्केको छ ।
त्यस्तै तेमाल गाँउपालिका वडा नं २ का शिरालाल तामाङको घर पुर्ण रुपमा क्षति भएको वडा सदस्य डिल्लीमान तामाङले जानकारी दिनुभयो । वडा नं २ मा नै च्याङबा तामाङ सहितका गरी ३ वटा घरमा क्षति पुगेको छ ।
यसका साथै तेमालका स्थानिय क्षेत्रमा सडक अवरुद्ध रहेको हाम्रा प्रतिनिधि शिशिर दोङले जनाउनुभयो । पालिका केन्द्र नारायणस्थान नजिक पहिरोले अबरुद्ध सडक भने खुलाइएको छ ।
विपद्मा परेका स्थानियलाई साथ दिन यहाँका प्रमुख, वडाध्यक्ष तथा जनप्रतिनिधि स्थानिय प्रहरी चौकीका प्रहरी लिएर पुगेका थिए ।
त्यस्तै जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका वडा नं ५ डुम्रेमा रहेको नेत्र ज्योति प्राथमिक विद्यालयको ३ कोठे पक्की भवन पहिरोले पुरेको छ ।
विद्यालयको दुईवटा भवन मध्ये एउटा भवन पूर्णरुपमा क्षति भएको वडा अध्यक्ष दुर्गा तिमल्सिनाले जानकारी दिनुभयो । यसैगरी घरमाथिबाट आएको पहिरोले स्थानीय टेकबहादुर सिङतानको घर पनि पुरिएको छ ।
पहरी बस्तीनै जोखिममा
अविरल वर्षाका कारण पहिरो जान थालेपछि काभ्रेको भुम्लु गाउँपालिका वडा नं ६ कोलाँती भुल्लुमा रहेको सिंगो पहरी वस्ती नै जोखिममा परेको छ ।
मध्यपहाडी लोकमार्ग खन्दा भुवनावट कमजोर हुनुकाा साथै माटो थुप्रीएको ठाउाबाट समेत सहजै पहिरो जाँदा पहरी वस्तीका ४५ घर जोखिममा परेको पालिका अध्यक्ष गुमानध्वज कुँवरले स्पष्ट पार्नुभयो ।
आफ्ना निर्वाचन क्षेत्र परेका प्रदेशसभा सदस्य लक्ष्मण लम्सालका अनुसार स्थानियसँगको सहकार्यमा जोखिममा परेकाहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।