![](https://namobuddhakhabar.com/wp-content/uploads/2019/09/IMG_20190906_163611.jpg)
नमोबुद्ध संवाददाता :
भकुण्डेवेशी–काभ्रेको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशीका ईट्टाभट्टाहरु विस्थापन गरिए लगत्तै स्थानियले यसको विकल्प खोजेका छन् ।
वातावरण प्रदुषण गर्ने ति उद्योग बिस्थापनमा नगरपालिकाले लिएको कदमप्रति धन्यबाद ज्ञापन गर्न शुक्रबार नगरपालिका कार्यालय पुगेका नागरिक समाजका प्रतिनिधि स्थानियले अबको विकल्प माग गरेका हुन् ।
रोशी वाङमय परिषद,भकुण्डेवेशी जेसिज,जनक मावि,जनक मावि एल्मुनाई एशोसियशन,नौविसे टोल सुधार समिति लगायत विभिन्न ४ दर्जन स्थानिय संघसंस्थाले ऐक्यबद्धता जनाएको धन्यबाद ज्ञापनपत्र तथा ध्यानाकर्षणपत्र बुझाउँदै उनिहरुले भकुण्डे उपत्यकाको विकासमा स्पष्ट खाका माग गरे ।
राष्ट्रिय किसान महासंघ प्रदेश ३ का कोषाध्यक्ष हरि तिमल्सीना,भकुण्डे कृषि सहकारी संस्थाका अध्यक्ष उद्धव हुमागाई,जनक मावि व्यवस्थापन समिति अध्यक्ष भरत दाहाल,सहप्राचार्य हरिहर अधिकारी,जनक मावि एल्मुनाईका अध्यक्ष रामहरि खनाल लगायतले भकण्डेवेशीमा लगानी भित्राउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरुले स्थानियलाई सम्बोधन हुने विकासका कार्यक्रम ल्याउन नगरप्रमुख टिपी शर्माको ध्यानाकर्षण गराउनुभयो ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख शर्माले स्थानियलाई केन्द्र विन्दुमा राखेर विकल्पका साथ भकुण्डे उपत्यकाबाट मापदण्ड विपरितका इट्टा उद्योगहरु हटाएको बताउनुभयो ।
ईट्टा व्यवसायीहरुको अटेरीका कारण बिचमा आएका दातृ निकायका आयोजना प्रस्तावहरु रोकिएपनि स्थानियको विकास तथा भकुण्डेको समृद्धिका लागि नगरपालिका र नयाँ साझेदार निकायबिच सकारात्मक प्रयासहरुको थालनी भईसकेको जानकारी गराउनुभयो ।
गत हिउँदमा नगरपालिकासँग भएको सहमति अनुसार २०७६ असार मसान्तभित्र मापदण्ड विपरितका ति भट्टा हटाउन व्यवसायीले अटेर गरेपछि नगरपालिका आफैंले यहि भदौ दोस्रो साता डोजर लगाएर भत्काएको थियो ।
(भिडियोसहित)