
- नमोबुद्ध संवाददाता :
नारायणस्थान–काभ्रेको तेमालमा “स्वस्थ परिवारका लागि आधुनिक चुलो” भन्ने नारालाई साकार पार्दै विद्युतिय चुलो कार्यक्रम सुरु गरिएको छ ।
नेपाल विद्युत प्राधिरणको अभियान अन्तरगतनै तेमाल सामुदायिक ग्रामीण विद्युत सहकारीले अजम्बरी संस्थासँग मिलेर सुरु गरिएको कार्यक्रमको हालै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुभारम्भ गर्नुभयो ।
वडा नम्बर १ का स्थानिय,पूर्व वडाध्यक्ष कृष्णमान तामाङलाई चुलो सेट वितरण गरी विद्युतिय चुलो कार्यक्रमको औपचारिक सुरुवात गर्दै निर्देशक घिसिङले यो चुलो निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । यो विद्युत प्राधिकरणकै अभियान अन्तरगतको कार्यक्रम तेमालबाट सुरुवात गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले समयको वचत,धुवाँरहित हुदा स्वास्थ्यको बचाउ हुने,कम इन्धन खर्चिने यो आधुनिक प्रविधिको चुलो कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले विद्युतिय चुलो चलाउन थालेपछि नियमित विद्युत प्रशारण र ट्रान्सफरमर हेरफेरमा थप संवेदनशील हुनुपर्नेतर्फ सजग गराउनुभयो । निर्देशक घिसिङले तेमालमा काठको पोल हटाई स्टीलको पोल राख्न र ट्रान्सफरमर फेर्न समेत प्राधिकरणले सघाउने प्रतिवद्धता जनाउनुभयो ।
पहिलो चरणमा सहकारीले तेमालका ५४० घरधुरीलाई यसखाले चुलो वितरण गरिने अध्यक्ष सार्कीमान तामाङले जानकारी दिनुभयो । कुल ५ हजार २२६ जना उपभोक्ता रहेको सहकारीका बाँकी उपभोक्तालाई पनि यस कार्यक्रममा समेटिने उहाँले बताउनुभयो ।
“सहकार्य गर्न तत्पर छु ।”
तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं लामाले विद्युतिय चुलो कार्यक्रम लगायत तेमालवासीको हित हुने खालको काममा आफू सहकार्य गर्न सदैव तयार रहेको बताउनुभयो ।
आफू तेमालवासीलाई उज्यालोमा ल्याउन विगतदेखीनै क्रियाशिल रहेको उल्लेख गर्दै उहाँले सम्पुर्ण उपभोक्तालाई विद्युतिय चुलो कार्यक्रममा लाभान्वित गराउनुपर्नेमा जोड दिनुभयो ।
जनगुनासो सम्बोधनको अनुभव सुनाउदै उहाँले भन्नुभयो–“स्वर्गबाट देउताले थपक्क पठाए जसरी जब प्राधिकरणमा कुलमान आउनुभयो,१८ घण्टा लोडसेडिङले अँध्यारो मुलुकमा विजुली झिलीमिली,त्यसपछि त एक छिन बत्ति जानेवित्तिकै पनि फोन आईहाल्थ्यो,कहिले काठको पोल ढल्ने समस्या आउने,त्यसमा रातदिन नभनि लाग्थ्यौं नत्र उपभोक्ताको गाली खानुपर्ने ।”
अहिले विजुली चुलो कार्यक्रमबाट समेत लाभान्वित हुने अवस्था आउनु खुसीको कुरा रहेको धरणा राख्नुहदै अध्यक्ष लामाले यो कार्यक्रम र काठका पोलहरु हटाउने अभियानमा तेमाल गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । बरु तेमाल सामुदायिक ग्रामिण विद्युत सहकारी संस्था भाग्न खोजेको उहाँको गुनासो थियो ।
यस सन्दर्भमा अध्यक्ष तामाङले आफूलाई गणेशसँग तुलना गर्दै शिव र गणेशको कथा सुनाउनुभयो ।
आपसी सर–सहयोग र सहकार्यबाटै तेमालको समृद्धि सम्भव रहेको तर्क गर्दै उहाँले भन्नुभयो‒“हामीले सहयोग गर्दै आएका त छौं नै,बिचमा कता कता आ–आफ्नै तरिकाले हिड्न खोजेजस्तो भो तर मिलेर जानु राम्रो हो, अब के गर्नु पर्यो ? म त सहकार्य गर्न सदैव तत्पर छु ।”
उहाँले आर्थिक वर्ष २०७६⁄०७७ मा तेमाल गापाले यहाँको विद्युत विकास,गुणस्तर अभिवृद्धि तथा यससँग सम्बन्धित कार्यक्रमहरु गर्न नीति,कार्यक्रम र बजेटले सम्बोधन गरेको जानकारी पनि गराउनुभयो ।