
- तिर्थमान वल:
काठमाडौं–जसरी आज हामी नेपालका आदिवासी जनजाति तामाङ समुदाय भाषा,साहित्य र संस्कृतिको पाटोमा शीर उचो बनाईरहेका हुन्छौं, यिनका पछाडि सम्झनामा आईरहने दुई नाम छन् सन्तवीर लामा र झ्याम्याङ लामा ।
यि दुई व्यक्तित्वमध्ये शनिबार स्वर्गीय झ्याम्याङ लामालाई स–सम्मान सम्झिए । उहाँ तामाङ संस्कृतिका मर्मज्ञ हुनुहुन्थ्यो । तामाङ बौद्ध संस्कृति,बोन साहित्य र संस्कृतिका उम्दा व्यक्तित्व झ्याम्याङको १०० औं जन्म जयन्तीको अवसरमा वर्षेनी सिर्जनात्मक तथा रचनात्मक कार्यक्रमहरु हुने गर्छ ।
यस सन्दर्भमा लामा,बोन्पो र ताम्बा ज्ञानका पर्याय उहाँको सम्झनामा शनिबार नाङसाल क्लब नेपाल ,नेपाल तामाङ घेदुङ र झ्याम्याङ लामा स्मृति प्रतिष्ठानले संयुक्त रुपमा राजधानीमा कविता प्रतियोगिताको आयोजना गरे ।
प्रतियोगितामा तामाङ समुदायका नयाँ पुराना कवि कवयत्रीहरुले कविता सुनाए भने प्रमुख अतिथि प्राज्ञ मानवहादुर दोङ,प्रतिष्ठानका संरक्षक एवं नेपाल तामाङ घेदुङका उपाध्यक्ष सिता गोले, घेदुङका महासचिव बाबु घिसिङ,घेदुङको भाषा,लिपि तथा साहित्य विभागका सदस्य लिला बहादुर तामाङ,अभियन्ता जय गोले,क्लवका अध्यक्ष मिक्साङ वाइबा लगायतले झ्याम्याङको योगदानको चर्चा गरे ।
तामाङ साहित्य तथा संस्कृतिको समृद्धिमा झ्याम्याङ लामाको अमुल्य योगदान रहेको वक्ताहरुको भनाई छ ।
नाङ्साल क्लब नेपालको १०६ औं नियमित साहित्यिक श्रृंखला समेत समाहित गरिएको प्रतियोगितामा उत्कृष्ठ कविता वाचन गर्ने धनकुमारी घिसिङ,रञ्जित तामाङ र डुप्साङ तामाङलाई पुरस्कृत गरिएको क्लवका अध्यक्ष वाइबाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा धनकुमारी घिसिङले पहिलो,रञ्जित तामाङ दोस्रो र डुप्साङ तामाङले तेस्रो स्थान हाँसील गर्नुभएको हो ।
कार्यक्रममा प्रतियोगि र अप्रतियोगि १९ जनाले झ्याम्याङको योगदान र तामाङ संस्कृति बारेका कविता सुनाएका थिए ।