• नमोबुद्ध संवाददाता

कतार– साहित्यकार एवं सामाजिक अभियन्ता लोकमाया क्षेत्री (माया केसी)ले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको महासचिव पदका लागि उम्मेदवारी दिएकी छन् । ‘एनआरएनए’ को आउँदो दुई बर्षे कार्यकालका लागि केसीले महासचिव पदमा उम्मेदवारी दिएकी हुन् ।

उम्मेदवारीसँगै उनले विभिन्न प्रबिद्धता पनि जाहेर गरेकी छन् । ‘बैदेशिक रोजगारीलाई मर्यादित बनाउन तथा आइपरेका र संभावित समस्याहरुलाई निराकरण गर्न प्रयत्न गर्ने, युवा र महिलाको सशक्तीकरण साथै श्रमिकहरुको सीप विकासका लागि समन्वय गर्ने, कतारको सरकारी संयन्त्रसंग नेपाली समुदायको सम्बन्ध बढाउन प्रयास गर्ने’ लगायतका प्रतिबद्धता उनले जारी गरेकी हुन् । 

त्यस्तै नेपाली भाषा, कला, साहित्य, सांस्कृतिक तथा खेलकुद अभियानलाई प्रबद्र्धन गर्न अन्तराष्टिय तवारले भुमिका निभाउने, कतारमा कार्यरत अन्य देशका सामाजिक संघसंस्थाहरु संग समन्वय र सहकार्य गर्ने, एनसिसिले विगतमा अवलम्वन गरेका नीति तथा नियमावलीहरुको संरक्षण, संवर्द्धन र निरन्तरता साथै परिस्कृत गरि समय सापेक्ष वनाउने’ लगायतका प्रतिबद्धता पनि उनले जनाएकी छन् ।

२०११ देखि परिषद सदस्य रहेकी केसी २०१७–०१९ कार्यकालमा युवा संयोजकको नेतृत्वमा रहेकी थिइन । ‘कतारमा रहनुभएका आदरणीय वुद्धिजिवी तथा सामाजिक अभियन्ता ज्यूहरु, विभिन्न संघ संस्थाहरुमा आवद्ध अग्रज ज्यूहरु, गैरआवासीय नेपाली संघका अभियन्ता ज्यूहरु, आदरणीय मित्रहरु तथा सम्पूर्ण शुभेच्छुकहरुको साथ, सल्लाह र सुझावलाई शिरोपर गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१९–०२१ को लागि महासचिव पदमा उम्मेद्धारी दिने निर्णय गरेकी छु’, उनले फेसबुक स्टाटसमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस !