- नमोबुद्ध संवाददाता :
भक्तपुर–मृगौला पिडीत उर्मिला तामाङको उपचारार्थ ‘उर्मिला बचाउ अभियान’ अन्तरगत ‘छोर्वाला काई’ रेडियो कार्यक्रम टोलीले शनिबार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकोमा संकलित रकम हस्तन्तरण गरेको छ ।
शुभकामना पार्टी प्यालेसमा आईतबार पत्रकार सम्मेलन गरी तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरको बाहुलीबाट ९ लाख २९ हजार ५८ रुपैयाँ रकम विरामीई नै हस्तान्तरण गरेको ‘छोर्वाला काई’ रेडियो कार्यक्रम सञ्चालक एवम् अभियन्ता सुदिन दोङले जानकारी दिनुभयो ।
रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नम्बर ७ निवासी ३५ वर्षकी उर्मिला तामाङको २ वर्ष अघि दुबै मृगौला फेल भएकोले उपचारमा आर्थिक सहयोग आवश्यक भएकोमा अभियान सञ्चालन गर्नुपरेको अभियन्ता दोङले स्पष्ट पार्नुभयो ।
विरामीको उपचारमा आर्थिक अभाव नहोस् भनि अभियान जारी राखेको उल्लेख गर्दै उहाँले टेलिफोनमा भन्नुभयो–‘विरामीका लागि चाहिने २० लाख रकम पुर्याउने हाम्रो तयारी छ, अमेरिका,कतार लगायतका देशबाट हाम्रा नेपाली दाजुभाई,दिदिबहिनी तथा मानवसेवी व्यक्तित्वहरुबाट संकलित रकम पनि नेपाल आईपुग्दैछ,अब बिरामीले चिन्ता लिनु पर्ने अवस्था छैन,हामी निरन्तर लागिरहेका छौं,विश्वास छ विरामीले नयाँ जीवन अवश्य पाउनुहुनेछ ।’
हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत उर्मिलाको जीवन बचाउने यो अभियानमा साथ दिने मनकारी सम्पूर्ण महानुभावहरुमा धन्यबाद ज्ञापन गर्नुहुदै अभियन्ता दोङले पिडीत उर्मिलालाई नयाँ जीवन दिलाउन अन्तिम अवस्थासम्म लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
‘छोर्वाला काई’ रेडियो कार्यक्रम आयोजक र कालीदेवी मिडिया हाउस प्रालि सहआयोजक रहेको शनिबारको बृहत सांस्कृतिक कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष थोकरले तत्काल विरामीको उपचारको वाताबरण बनाउन आफु सहयोगी बन्ने वचन दिनुभएको थियो ।
उर्मिला जस्ता थुप्रै विरामीहरु बचाउन सरकार जिम्मेवार नबनेको उहाँको गुनासो थियो ।
नेपाली कांग्रेस रामेछापमा नेता रामचन्द्र खड्काले उर्मिलाको उपचारमा साथ दिन स्थानिय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
‘आवश्यक परेको खण्डमा गाउँपालिका अध्यक्ष उपाध्यक्षले चलाउन मिल्ने पचासौं लाखको कोष हुन्छ,यत्तिबेला हाम्रो स्थानिय सरकार आफैंले उर्मिलालाई बचाउन सक्छ’ उहाँको प्रतिवद्धता छ‒‘पैसाकै कारण कोही नेपालीले ज्यान गुमाउनु हुन्न, आजदेखी म पनि उर्मिलाको साथमा छु, आवश्यक सहजिकरण मार्फत आर्थिक संकलन र उपचारमा सहयोगी बन्नेछु ।’
कार्यक्रममा सांगीतिक प्रस्तुतीका साथमा चन्द्रकुमार दोङ,प्रयास दोङ,विशाल थिङ लगायतका कलाकारहरुले पनि स्टेजबाटै सार्वजनिक रुपमा सहयोगको आह्वान गरेका थिए ।
रेडियो जनसञ्चारबाट प्रशारण हुदै आएको ‘छोर्वाला काई’ रेडियो कार्यक्रमको ११ औं प्रयास अन्तरगत सांस्कृतिक कार्यक्रम भएकोमा विभिन्न संघसंस्था तथा स्वतन्त्र व्यक्तित्वहरुले सहयोग गरेका थिए ।