- नमोबुद्ध संवाददाता :
भक्तपुर–‘छोर्वाला काई’ रेडियो कार्यक्रमको ११ औं प्रयास स्वरुप ‘उर्मिला बचाउ अभियान २०७६’ को तयारी भईरहेको सञ्चालक सुदिन दोङले जानकारी दिनुभयो । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नम्बर ७ निवासी उर्मिला तामाङ विगत २ वर्ष देखि दुबै मृगौला फेल भएको समस्याबाट गुज्रिदै आएको जनाउँदै दोङले यसमा सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम गर्न लागेको उल्लेख गर्नुभयो ।
३५ वर्षकी तामाङको जीवन बचाउको पहलस्वरुप यो अभियानमा होमिएको दोङले स्पष्ट पार्नुभयो । उहाँले उर्मिलालाई पुनर्जन्म दिलाउन आ–आफ्नो तर्फबाट सहयोग रहनेगरी आउने शनिबार १८ गते सुर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा साँस्कृतिक कार्यक्रम हुने बताउनुभयो ।
कालीदेवी मिडिया हाउस प्रालि सहआयोजक रहने कार्यक्रममा चन्द्रकुमार दोङ,रोज मोक्तान,इन्दिरा गोले,सञ्जीव वाईवा,बिश्व दोङ,बिशाल काल्तान,उतर लामा लगायतका दर्जन बढि कलाकारहरुको प्रस्तुती रहनेछ ।
भक्तपुरको रेडियो जनसञ्चारबाट साप्ताहिक रुपमा प्रशारण हुदै आएको ‘छोर्वाला काई’ रेडियो कार्यक्रमले मानवसेवालाई निरन्तरता दिने क्रममा यो अभियानसँग जोडिएको सञ्चालक दोङले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो–‘हाम्रो रेडियो कार्यक्रमले सुसूचित पार्नुका साथै समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व बोध गरेको हो,यसमा अन्य थुप्रै महानुभावहरुको सहयोग मिल्नेमा विश्वस्त छु ।’
उहाँका अनुसार पीडित उर्मिला हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत हुनुहुन्छ । पीडितको घरको आर्थिक स्थिति नाजुक भएको हुँदा उपचार गर्न निकै समस्या छ ।
मृत्युसँग लडिरहेकी उर्मिलालाई बचाउन सक्दो सहयोग गर्न सहयोगी व्यक्तिहरुमा ‘छोर्वाला काई’ सञ्चालक दोङले अनुरोध पनि गर्नुभयो ।
पीडितको बैंक खाता : नेपाल इन्भेष्टमेन्ट बैंक खाता नं. 00205030307994