• नमोबुद्ध संवाददाता :

बनेपा–मध्यपहाडकै व्यापारिक नगरी काभ्रे जिल्लाको बनेपा नगरपालिकाले समानुपातिक बजेट विनियोजनको प्रयासका साथ सोमबार आफ्ना नीति,कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

पाँचौं नगरसभा हुदै गर्दा नगर प्रमुख(मेयर) लक्ष्मीनरसिं वादे श्रेष्ठले भन्नुभयो–“हामीले सबै वडालाई समान व्यवहारका साथ बजेट विनियोजन गरेका छौं जसले गर्दा योजना डुब्लीकेसन हुनबाट समेत रोकिन सक्ने भयौं ।”

वडागत बजेट फरक फरक गर्नुको औचित्य विभेद नरहेको प्रष्ट्याउदै उहाँले कम बजेट परेको वडामा प्रदेश र संघ सरकारको योजनाहरु परेको उल्लेख गर्नुभयो । यसले बनेपाको समग्र विकासमा सामञ्जस्यता कायम गर्न सघाउने प्रमुख श्रेष्ठको दावी छ ।

त्यसै अनुसार वडा नम्बर १ मा ६० लाख,२ मा ५९ लाख,३ मा ७० लाख ,४ मा ७० लाख,५ मा ८५ लाख ५० हजार, ६ मा ७२ लाख वडागत बजेट विनियोजन गरिएको छ । त्यस्तै वडा नम्बर ७ मा ८५ लाख,८ मा ५० लाख,९ मा ६२ लाख,१० मा ७० लाख,११ मा ७२ लाख ,१२ मा ७५ लाख,१३ मा ६५ लाख र वडा नम्बर १४ मा ७० लाख बजेट छुट्याईएको छ ।

कांग्रेसका तर्फबाट जनप्रतिनिधिमा निर्वाचित वडाध्यक्ष तथा सदस्यहरुको समेत सरसल्लाह र सहमतिमा बजेट विनियोजन भएको नगर प्रमुख श्रेष्ठको धारणा छ ।

अन्तिम अवस्थामा नगरसभामा कांग्रेसतर्फबाट जितेका कार्यपालिका सदस्य तथा वडाध्यक्षहरु नआउने खबर पाएपश्चात प्रमुख श्रेष्ठले भन्नुभयो–“कार्यपालिकाबाट हामी सबैले सहमति जनाएका कुराहरुनै हुन् आजको नगरसभामा आउने,मैले सबै वडालाई बराबर व्यवहार गरेकै छु,अन्तिम अवस्थामा असन्तुष्टि जनाएर के गर्नु ।”

उपप्रमुख(उपमेयर) रेखा दाहाल सापकोटाले समुदाय,भौगोलिकता,जनसंख्या र अवश्यकताको आधारमा समानुपातिक ढंगले यसरी बजेट विनियोजनको प्रयास भएको  स्पष्ट पार्नुभयो ।  आर्थिक वर्ष २०७६÷२०७७ को नीति तथा कार्यक्रम र बजेटले आर्थिक विकासका साथै सामाजिक विकासमा पनि जोड दिईएको उहाँले बताउनुभयो ।

यसै अनुसार सोमबार(असार ३०) मा बनेपा नगर हलमा आयोजित नगर सभामा नगरप्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले नीति तथा कार्यक्रम र उपप्रमुख रेखा दाहाल सापकोटाले योजना र बजेट प्रस्तुत गर्नुभएको थियो ।म बनाउँछु मेरो बनेपा’

बनेपा नगरले आगामी आर्थिक वर्षमा गौरवका कार्यक्रमहरु सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसै अनुसार ‘म बनाउँछु मेरो बनेपा’, ‘मेयर पर्यटन प्रर्वद्धन कार्यक्रम’, मेयर उत्कृष्ट शैक्षिक पदक, महिलासँग उपमेयर, प्रत्येक वडामा जेष्ठ नागरिक आराम तथा भेटघाट गृह निर्माण, प्राङ्गारिक उपजको प्रयोग गरौं, मेयर कप फुटबल, ‘जनतासँग मेयर’ जस्ता कार्यक्रम गर्ने नीति लिएको नगर प्रमुखद्धार प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

कुल बजेट ८८ करोड ६२ लाख

पाँचौ नगरसभामा उपप्रमुख रेखा सापकोटाले आगामी आर्थिक वर्ष २०७६।०७७ का लागि कुल ८८ करोड ६२ लाख ८७ हजारको बजेट प्रस्तुत गर्नुभयो । कुल आयमा आन्तरिक आय ११ करोड ८८ लाख ७० हजार अनुमान गरिएको छ भने बाह्य स्रोतबाट ७६ करोड ७४ लाख १७ हजार अनुमान गरिएको छ ।

जस मध्ये वित्तीय समानिकरण अनुदान १६ करोड ४३ लाख, राजस्व बाँडफाँडबाट ९ करोड ९१ लाख, सशर्तत अनुदान २३ करोड १३ लाख, सामाजिक सुरक्षा तर्फ १० करोड र तरकारी तथा फलफूल मूल्य श्रृङ्खलामा २२ लाख समेत गरी नेपाल सरकारबाट ५९ करोड ६९ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तर्फ वित्तीय समानिकरणबाट रु. १ करोड ८ लाख २३ हजार, राजस्व बाँडफाँडबाट २ करोड ९६ लाख ९४ हजार, सशर्त अनुदान १ करोड र समपुरक अनुदान ३ करोड गरी प्रदेश सरकारबाट जम्मा रु. ८ करोड ५ लाख १७ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

जिल्ला समन्वय समिति कोष तर्फबाट रु. २ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ । सडकबोर्ड नेपालबाट रु. ६० लाख र मौज्दात रकम रु. ५ करोड ७० लाख हुने अनुमान गरिएको छ ।

पूँजीगत खर्च तर्फ औजार उपकरण तथा मर्मत पूँजीगत रु. १ करोड ७५ लाख विनियोजन गरिएको छ । वडा स्तरीय योजना तर्फ कुल रु. ५ करोड ६० लाख विनियोजन गरिएको छ ।

विषयगत क्षेत्र पूँजीगत तर्फ आर्थिक विकास अन्तर्गत खानेपानी तथा सरसफाईमा ५३ लाख, कृषि विकासमा ७४ लाख, पशुपन्छी विकासमा ४१ लाख, उद्योग विकासमा ३० लाख, सहकारी प्रबर्धनमा रु. १० लाख र पर्यटन प्रबद्र्धृन पूर्वाधार विकासमा २० लाख गरी आर्थिक विकास अन्तर्गत कुल रु. १ करोड ७५ लाख विनियोजन गरिएको छ ।

सामाजिक विकास तर्फ शक्षा तर्फ ८३ लाख ३५ हजार, संस्कृति संरक्षण तर्फ रु. ७६ लाख पचास हजार, स्वास्थ्य तर्फ रु. ८६ लाख, युवा तथा खेलकुद तर्फ रु. २० लाख, महिला, बालबालिका तथा अपाड्ड क्षमता अभिवृद्धि कार्यक्रम तर्फ रु. २० लाख, जनजाती क्षमता अभिवृद्धि कार्यक्रम तर्फ रु. ७ लाख र दलित क्षमता अभिवृद्धि कार्यक्रम तर्फ रु. १० लाख समेत गरी सामाजिक विकास तर्फ कुल रु. ३ करोड ५५ लाख ८५ हजार विनियोजन गरिएको छ ।

पूर्वाधार विकास तर्फ नगर स्तरीय योजनाका लागि रु. ८ करोड २८ लाख, बैकल्पिक उर्जा तर्फ रु. ११ लाख, भवन आवास तथा शहरी विकासमा रु. २० लाख गरी पूर्वाधार विकास तर्फ रु. ८ करोड उनान्साठी लाख विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापन तर्फ कुल रु. ७५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ५ लाख विनियोजन गरिएको छ । नगर स्तरीय मागमा अधारित योजना तर्फ १ करोड ४० लाख विनियोजन गरिएको छ । सडक बोर्ड तर्फ रु. ९० लाख विनियोजन गरिएको छ । समाजिक सुरक्षा कार्यक्रम तर्फ १० करोड विनियोजन गरिएको छ । प्रदेश समपुरक अनुदान तर्फ रु. ६ करोड विनियोजन गरिएको छ ।

जिल्ला समन्वय समिति कोष मार्फत प्राप्त हुने कार्यक्रमका लागि रु. ५ करोड ५ लाख विनियोजन गरिएको छ । सशर्त अनुदान तर्फका कार्यक्रमका लागि रु. २४ करोड १३ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनमा रु १ करोड ९ लाख ९४ हजार विनियोजन गरिएको छ ।

बनेपा नगरको आव २०७६/७७ को नीति,कार्यक्रम र बजेट हेर्नुहोस्.pdf

प्रतिक्रिया दिनुहोस !