• नमोबुद्ध संवाददाता :

पोखरी नारायणस्थान–काभ्रेको तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०७६⁄०७७ को नीति,कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक गरिएको छ ।

साथै पालिका मुकाम पोखरी नारायणस्थानमा एक समारोहका बिच भएको पाँचौ गाउँसभाले गाउँपालिका अध्यक्ष सलाम सिं लामाद्धारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा उपाध्यक्ष दुर्गामाया तामाङद्धारा पेश गरिएको बजेट बहुमतले पास(पारित) गरेको छ ।

बिहिबारदेखीको अविरल वर्षका कारण केहि जनप्रतिनिधि सभामा आउन सकेनन् । यद्यपी बुहमत(५१%) कार्यपालिका पदाधिकारीको उपस्थितिले बजेट पास गरेको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक सँगै शुक्रबारनै सभाबाट यसको अनुमोदन समेत भएकोले गाउँपालिकालाई आगामी वर्षका लागि योजना,कार्यक्रमको बाटो खुलेको छ ।

बजेट पास लगत्तै गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो–“हामी गाउँ बनाउन जितेर आएका हौं तर साथीहरु झगडा मात्रै गर्ने मनस्थितिमा देखिंदा दुख लागेर आयो,यत्तिकै बस्न मिलेन,तेमालका जनतामाझ ईमान्दारीता देखाउनैपर्छ,जनताको काम गर्नैपर्छ भन्ने जोड मेरो हो,धेरै छलफल भयो,मेरो लचकताकै कारण बेलैमा बजेट पास भयो,यसैमा खुसी छु,अब नतिजा उन्मुख दिगो विकासका कामहरुमा मेरो ध्यान जानेछ,यसमा सबैको साथ रहनेमा विश्वस्त छु ।”

संघीय कानुन अनुसार यसअघि असार १० गतेभित्रनै सार्वजनिक गर्नुपर्ने नीति तथा कार्यक्रम बामधारका कार्यपालिका पदाधिकारी तथा सदस्य र लोकतान्त्रिक धारका कार्यपालिका पदाधिकारी तथा सदस्यबिच कुरा नमिल्दा सार्वजनिक गर्न सकेको थिएन ।

संघीय कानुनअनुसार असार मसान्तभित्र नीति तथा कार्यक्रम र बजेट सभाले पास गर्नुपर्नेमा तेमाल गाउँपालिका यसमा सफल भएको छ । अब नयाँ नीति,बजेट तथा कार्यक्रम नयाँ आर्थिक वर्षको सुरुवात साउन १ गतेबाट कार्यन्वयनमा आउनेछ ।

अध्यक्षद्धारा नीति तथा कार्यक्रम,उपाध्यक्षद्धारा बजेट वक्तव्य

सभामा अध्यक्ष लामाले आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रमहरु,पर्यटन विकासतर्फको नीति तथा कार्यक्रमहरु,सामाजिक विकास तर्फका नीति तथा कार्यक्रमहरु,खेलकुदसम्बन्धी नीति तथा कार्यक्रमहरु,स्वास्थ्यतर्फको नीति तथा कार्यक्रमहरु,खानेपानी तथा

पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरु,वातावरण सम्बन्धी नीतिहरु,लैंगीक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रमहरु,सेवा प्रवाह,संस्थागत विकास तथा सुशासन सम्बन्धी नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभयो ।

उपाध्यक्ष दुर्गामाया तामाङले भने आगामी आर्थिक वर्षका लागि तय गरिएको बजेट प्रस्तुत गर्नुभयो ।

कुल आय ४८ करोड कायम

गाउँपालिका उपाध्यक्ष तामाङले पाँचौ गाउँसभामा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यको मुल नारा “तेमालको शान्ति र सवृद्धिको आधार पर्यटन,संस्कृति,दिगो विकास र पूर्वाधार” भन्ने तय गरिएको छ ।

यस अनुरुप संघीय सरकारबाट वित्तिय समानीकरण अनुदानमा जम्मा रु ९ करोड ९ लाख,संघीय सरकारबाट शशर्त अनुदान विभिन्न शिर्षकमा एकमुष्ट रु १४ करोड ३९ लाख,सामाजिक सुरक्षा भत्तातर्फ ६ करोड ५० लाख, प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान

रु ९९ लाख ३६ हजार,शशर्त अनुदानतर्फ रु १८ लाख ४३ हजार,गाउँपालिकाको स्रोत पहिचानबाट रु १० करोड,चालु आर्थिक वर्षको काम गर्न नसकेका योजनाको रु ५ करोड ५० लाख गरी कुल आय रु ४८ करोड ९ लाख ५६ हजार ७७ कायम गरिएको छ ।

सबै खर्च गर्ने लक्ष्य

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न योजनाहरु सार्वजनिक गर्दै ति योजनाहरुमा आय अनुमान गरिएअनुसार रु ४८ करोड ९ लाख ५६ हजार ७७ नै खर्च गर्ने उद्धेश्य लिएको छ ।

आगामी आर्थिक वर्षमा विभिन्न विषयगत शिर्षकका विकास क्षेत्रमा रु २ करोड १७ लाख, सामाजिक विकास तर्फ ५ करोड ७९ लाख खर्चिने भएको छ, जस अन्तरगत शिक्ष,स्वास्थ्य,खानेपानी तथा सरसफाई,संस्कृति प्रवद्र्धन,खेलकुद लगायत छन् ।

बढि बजेट छुट्याईएका अन्य योजनालाई भने रणनीतिक योजना भनिएका छन् ।

कस्ता छन् रणनीतिक योजना ?

गाउँपालिकाले प्राथमिकतामा राखेका ठूला योजनालाई रणनीतिक योजनाको रुपमा अघि सारिएको छ । जुन पूर्वाधार विकास क्षेत्र अन्तर्गतमा रु १२ करोड ५० लाख विनियोजन गरिएको छ ।

जस अन्तरगत स्थानिय सडक,सिंचाई,भवन तथा शहरी विकास र उर्जा विद्युत विकास कार्यक्रम लगायत छन् । गाउँपालिका क्षेत्र वातावरण अनुकुलनका लागि यस सम्बन्धी कार्यक्रमलाई समेत बजेटले सम्बोधन गरेको छ ।

वातावरण संरक्षण तथा विपद् व्यवस्थापन कार्यक्रमलाई ५२ लाख ५० हजार बजेट छुट्याईको हो ।

त्यस्तै संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनमा ५० लाख बजेट छुट्याईएको छ ।

कसरी बन्यो बजेट ?

गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले अन्ततगत्व बजेटको मुल सपना समृद्ध तेमाल रहेको बताउनुभयो । उहाँले स्थानियको इच्छा,आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न स्थानिय सरकारको आभाष गराउन सामाजिक आर्थिक विकासको ढाँचामा तेमाल सरकार अघि बढेको दावी गर्नुभयो ।

यसको प्रस्थान बिन्दुको रुपमा उहाँले सवल भौतिक पुर्वाधार, स्तरीय सडक सञ्जाल,गुणस्तरीय शिक्षाको उपलव्धता,कृषिमा व्यवसायिकरण,आधारभुत स्वास्थ्य उपचारमा पहुंच,स्वच्छ खानेपानी र सुरक्षित आवास,पर्यटन प्रवद्र्धन,बुद्धचित्तमालाको उचित बजारीकरणलाई अति आवश्यकीय सेवाको रुपमा अंगीकार गर्दै बढ्ने उल्लेख गर्नुभयो ।

त्यसैले “तेमालको शान्ति र सवृद्धिको आधार पर्यटन,संस्कृति,दिगो विकास र पूर्वाधार” भन्ने नारा अघि सार्दै नीति तथा कार्यक्रमका साथै बजेट तर्जुमा गरिएको स्पष्ट पार्नुभयो । उपाध्यक्ष तामाङका अनुसार बजेट कार्यन्वयनबाट गतिलो परिणाम निकाल्न जनसहभागितामा जोड दिइएको छ ।

यसमा योजना तर्जुमाको क्रममा विभिन्न वडास्तरीय भेलाहरु भएको छ । वडास्तरीय रुपमा छानिएका योजनाहरुलाई प्राथमिकिकरण गरी त्यसकै आधारमा बजेटकोे सिमामा रहेर रकम विनियोजन गरेको उहाँको भनाई छ ।

गाउँ क्षेत्रको विकासका लागि स्रोतहरुको पहिचान,विनियोजन र विकासको प्रतिफलको सन्तुलित तथा समान वितरणमा सामाजिक समानता ल्याउने प्रयास भएको उहाँको धारणा छ ।

उहाँले योजनाहरुको छनौट,तर्जुमा र सञ्चालन गर्न आवश्यक जिम्मेवारी र अधिकार स्थानिय वासिन्दाहरुमानै प्रदान गरी स्थानिय नागरिकहरुलाई विकास एवम् सामाजिक सुव्यबस्था कायम गर्ने कार्यमा गाउँपालिका मुख्य सहयात्रीको रुपमा रहने प्रतिवद्धता पनि जनाउनुभयो ।

गाउँपालिकाको पाँचौ गाउँसभामार्फत सार्वजनिक नीति,कार्यक्रम तथा बजेट योजना रु १० हजार देखी करोड सम्मका छन् ।
तेमाल गापाको नीति,कार्यक्रम,योजना र बजेट लौ हेर्नुहोस् :

१.तेमाल गापाको नीति,कार्यक्रम र बजेट वक्तव्य २०७६/०७७.pdf

२.तेमाल गापाको योजना र बजेट २०७६ /०७७.pdf

सभामा अध्यक्ष सलाम सिं लामाद्धारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७६⁄०७७ को नीति तथा कार्यक्रमहरु :

सभामा उपाध्यक्ष दुर्गामाया तामाङद्धारा पेश गरिएको बजेट वक्तव्य :

 

प्रतिक्रिया दिनुहोस !