
- नमोबुद्ध संवाददाता :
सर्लाही–२ नं. प्रदेशस्थित सर्लाहीको लालबन्दी नगरमा शुक्रबार र शनिबार दुई दिने प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठीको आयोजना गरिएको छ ।
लालबन्दी नगरपालिका र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आत्मनिर्भर युवा परिचालन समाज, लालबन्दीद्वारा आयोजित वाङ्मय सङ्गोष्ठीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो ।
गोष्ठीलाई सम्बोधन गर्दै उप्रेतीले लालबन्दीमा यसप्रकारको सङ्गोष्ठी आयोजना हुनु उल्लेखनीय कार्य भएको बताउनुभयो । कुलपति उप्रेतीले यसभन्दा अगाडि पनि विभिन्न सङ्घसंस्थासँग प्रज्ञा–प्रतिष्ठानको सहकार्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आगामी दिनमा पनि लालबन्दी नगरपालिका र प्रज्ञा–प्रतिष्ठानबिच यस्ता कार्यक्रमहरू आयोजना गरिनु पर्छ” उहाँले थप्नुभयो, “नगरको भाषा, साहित्य, कला तथा संस्कतिको विकासका लागि नगरपालिकाले नगर साहित्य परिषद् गठन गर्नु आवश्यक छ ।”
त्यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बूले प्रदेश नं. २ मा साहित्यको समृृद्धि र विकासमा लालबन्दी अग्रस्थानमा रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका अध्यक्ष लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नगर साहित्य परिषद् गठनका लागि नीतिगत तथा कानुनी कुराहरू बुझेर तत्कालै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्नुभयो ।
त्यसैगरी नगरपालिकाकी उपप्रमुख शान्ति लामाले नगरपालिकाले साहित्यको प्रवद्र्धनका लागि काम गरिरहेको उल्लेख गर्दै नगरभित्र साहित्यको विकासका लागि आवश्यक कार्य गर्न नगरपालिका तयार रहेको विश्वास दिलाउनुभयो ।
कार्यक्रममा उपप्राध्यापक नवराज रिजालले ‘प्रदेश नं. २ का १० मातृभाषा र तिनको साहित्यिक अवस्था’ विषयक र उप–प्राध्यापक सुमन घिमिरेले ‘प्रदेश नं. २ मा अनुवाद साहित्यः एक सिंहावलोकन’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि साहित्यकार गोपाल अश्क र कविराज सुवेदीले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश नं. २ का ८ वटा जिल्लाका स्रष्टाहरूको प्रतिनिधित्व रहेको थियो ।
कथाकार देवराज पौडेलको ‘मोडहरू’ कथा सङ्ग्रह र सर्लाही साहित्य समाजद्वारा प्रकाशित ‘सर्लाहीका महिला हस्ताक्षर’ कविता सङ्ग्रहको विमोचन समेत गरिएको भव्य गोष्ठीको सो अवसरमा विभिन्न व्यत्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।
सर्लाही साहित्य समाजले साहित्यकार गोपाल अश्कलाई विशेष सेवा सम्मान, साहित्यिक पत्रिका गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारीलाई साहित्यिक पत्रकारिता सम्मान, कवि तथा समालोचक सुमन घिमिरेलाई साहित्य सेवा सम्मान र पत्रकार रोहित पौडेललाई पत्रकारिता सम्मानद्वारा सम्मानित गरिएको हो ।
उहाँहरुलाई कुलपति उप्रेती माला, दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।