• नमोबुद्ध संवाददाता :

काठमाडौं–प्रज्ञा भवनमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले आईतबार ‘योगदर्शन, जीनशैली र स्वास्थ्य’ विषयक विचार गोष्ठीको आयोजना गर्यो ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सकेसम्म जीवनमा योगलाई सबैले अनुसरण गर्न सके लाभदायी हुने बताउनुभयो । उहाँले योगलाई संस्कृतिसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले गोष्ठी ज्ञानमूलक भएको भन्दै मानिसको जीवनमा योगको ठूलो महत्व रहने बताउनुभयो । उहाँले भन्नुभयो, “योगले स्वस्थ जीवनका साथै जीवनलाई विभिन्न कोणबाट हेरिनुपर्छ भन्ने कुराको पनि ज्ञान दिन्छ ।”

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्यायले योगदर्शन नेपाली दर्शन भएको उल्लेख गर्दै मानिसको बदलिँदो जीवनशैलीका कारण पनि योगबारे प्रशस्त विचार–विमर्श गरिनुपर्ने बताउनुभयो ।

योगदर्शनले मानिसको मन र शरीरलाई संयोजन गर्ने उहाँको दाबी थियो । सदस्य सचिव उपाध्याले प्रज्ञा–प्रतिष्ठानले चाँडै नै पचास जति दर्शनका विषयलाई समेटेर ‘नेपाली दर्शन’ नामक ग्रन्थ प्रकाशन गरिने योजना रहेको सुनाउनुभयो ।

कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ले ‘योगदर्शन, जीवनशैली र स्वास्थ्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा उहाँले योग शब्दको अर्थ, योगदर्शनको उदय र विकास, योगको परम्परा, नेपाली सभ्यता र योग, यौगिक जीवनशैली र स्वास्थ्यका बारेमा प्रकाश पार्दै मानव जीवनमा योगको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यपत्रमाथि प्रा.डा. नन्दबहादुर सिंह, दीर्घराज प्रसाईं, इन्दिरा ढकाल लगायतले विभिन्न जिज्ञासा राख्नुका साथै परिपूरक छलफल गर्नुभएको थियो ।
कार्यक्रममा दर्शनशास्त्र विभागका सदस्य विष्णु प्रभातले विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो भने योगयात्री विष्णु गिरीले नाकबाट पानी पिउने र बाहिर निकाल्ने कला प्रस्तुत गर्नुभएको थियो । दुर्गा पन्त र स्वस्तिका पन्तले योगकला प्रदर्शन गर्नुभएको कार्यक्रम राधा कार्कीले सञ्चालन गर्नुभएको नेपाल प्रज्ञा प्रतिष्ठान सञ्चार विभाग प्रमुख एवम् प्राज्ञ शशी लुमुम्बुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !