• नमोबुद्ध संवाददाता

धनकुटा– कला, साहित्य रंगमञ्चमार्फत स्थानिय संस्कृति, सम्पदा र मौलिक पहिचान प्रबद्र्धन गर्ने ध्येय बोकेको जेसुम यात्रा यसपटक धनकुटामा सम्पन्न भएको छ । सदरमुकाम धनकुटा बजारस्थित आठपहरिया किराँत समुदायको बस्तीमा कवि, चित्रकार र रंगकर्मीहरुले जेसुम यात्रा गरेका हुन् । काठमाडौं, इटहरी र धरानका स्रष्टाहरु शनिबार धनकुटा बजार पुगेका थिए ।

झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाइँ र वडाअध्यक्ष जंगबहादुर आठपहरियाले रातो टिका लाइदिएर स्वागत गरेपछि स्रष्टाहरुले बजारबाट आठपहरिया गाउँ र चुलीबनतिरको हाइकिङ थालेका थिए । उनीहरुको आठपहरियाहरुको रहनसहन, इतिहास, राणा शासनको पालामा समुदायमाथि भएको दमन जस्ता तथ्य खोतल्दै अक्षर र क्यानभासमा आठपहरिया समाजको चित्र उतारे । स्थानिय र आगन्तुक गरेर तीन दर्जन स्रष्टाहरुले चुली वन पुगेपछि आठपहरिया पुर्खा राम्ली र रिदिमा हाङसँगै मौलिक पोशाकसहितको आठपहरिया युवतीको मुर्ति, धार्मिक मन्दिर र भ्यु टावर अवलोकन गरेका थिए ।

मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको आतिथ्यमा कवि स्नेह सायमी, अनिता लामा, फूलमान वल, विना थिङ तामाङ, रमेश कँडेल, हेमन यात्री, सुदिप पाख्रिन, शीतल गिरी, केजी सुब्बा, मुकुन्द प्रयासलगायतले सिर्जना सुनाए । धनकुटा बजारलाई पृष्ठभुमिमा पारेर राखिएका चित्रकला प्रदर्शनी नियाल्नेको भीड थियो ।

संस्कृतिकर्मी सुर्य आठपहरियाले नेतृत्व गरेको टोलीमध्ये चित्रकार एकातिर तमोर नदी र अर्कोतिर आठपहरिया बस्ती देखिने वनको मध्यतिरै जक्सन जमाएर क्यानभास कोर्न थाले । कवि अनिता लामा र सगरमाथा आरोही देउराली चाम्लिङको टोली भने आठपहरिया बस्तीमै झरेर मौलिक घर, खानपान, भेषभुषा अवलोकन गरे । सेलो थिएटरका रंगकर्मी शान्ति वाइबा, सोनाम लामा र सन्तोष तामाङले बाँसुरीको धुनले चित्रकार र कविलाई पाश्र्वसंगीतको अनुभुति दिलाए । चित्रकार एनवि गुरुङ, उमेशचन्द्र अधिकारी, डिराम पाल्पाली, नरबहादुर बिके, विनोदकुमार गुप्ता, सुरेश देसार, आरपी याकामी, पुण्य तामाङ, डिल्लीकृष्ण आले, श्रीकृष्ण जोशी, धिरेन्द्र श्रेष्ठ, सुशील शाक्यलगायतको क्यानभासमा धनकुटा बजार र आठपहरिया बस्ती कोरेका थिए । यही बेला स्थानिय सरकुमारी र जानुकाले आठपहरिया समुदायको मौलिक परिधान प्रस्तुत गरेकी थिइन् ।

स्रष्टाहरुले दिउँसो स्थानिय निजामती स्कुलको परिसरमा भेला भएर कवि गोष्ठी र चित्रकला प्रदर्शनी गरे । उनीहरुलाई साथ दिन नजिकैको कचिडे गाउँबाट साहित्यकार झमक घिमिरे पनि आइपुगेकी थिइन् । आफ्नो थातथलोमा काठमाडौंदेखि स्रष्टाहरु आएकोमा झमकले खुशी जनाइन् । उनकै प्रमुख आतिथ्यमा कवि स्नेह सायमी, अनिता लामा, फूलमान वल, विना थिङ तामाङ, रमेश कँडेल, हेमन यात्री, सुदिप पाख्रिन, शीतल गिरी, केजी सुब्बा, मुकुन्द प्रयासलगायतले सिर्जना सुनाए । धनकुटा बजारलाई पृष्ठभुमिमा पारेर राखिएका चित्रकला प्रदर्शनी नियाल्नेको भीड थियो ।

चित्र र कवितामार्फत धनकुटा प्रबद्र्धन गरेकोमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईले प्रसंशा गरे । ‘तपाईंहरु धनकुटा खोज्दै आउनुभयो’, उनले भने, ‘शब्द र रंगमा टिप्नु भएको धनकुटालाई शहर पनि प्रबद्र्धन गर्नु हुनेछ भन्ने आशा छ ।’ जेसुम यात्राकी संयोजक अनिताले यात्रा श्रृंखलामा तयार चित्रको राजधानीमा छिट्टै प्रदर्शनी गर्ने र कविता पनि संग्रहमा समेटिने जनाइन् । ‘सकारात्मक सोचको बिकास सहित हामीले हामीलाई बुझ्नुपर्छ भन्ने हाम्रो मान्यता हो । नराकात्मकताले समाजलाई अग्रगमनतिर लैजान सक्दैन’, उनले भनिन्, ‘त्यही मान्यता सहित धुलिखेलबाट जेसुम अभियान थालेका थियौं । यो एउटा साहित्य र कला आन्दोलन हो । छिट्टै हामी हाम्रो अवधारणा र सैद्धान्तिक मान्यता पनि सार्वजनिक गर्नेछौं ।’ यात्राको यो आठौं श्रृंखला हो ।

प्रतिक्रिया दिनुहोस !