• सेम्ह्रो फूलमान मोक्तान :

धुलिखेल–गायक दिपक मुक्तानको पहिलो सांगीतिक प्रयास नयाँ तामाङ सेलो ‘आस्याङको छोरो’ भिडियो सहित बजारमा आएको छ ।

मकवानपुर मनहारि गाउँपालिकास्थित डिपाडमा जन्मनुभएका गायक मुक्तानलाई शब्दमा प्रकाश तामाङले गायकको आफ्नै परिवेशलाई उतारेर साथ दिनुभएको छ । स्वयम् प्रकाशकै संगीत रहेको गीतको संगीत संयोजन भने चांद सिंको छ ।

यो गीतमा तामाङ समुदायमा प्रचलित आस्याङको छोरो र फुपु(आङी)की छोरीबिचको ख्यालठट्टा र मायाप्रेमको कथा उधिनिएका छन्,जसलाई निर्देशक प्रकाश तामाङ र सुशिल लामाले भिडियोकैद गराउनुभएको छ ।

अस्याङको छोरोको भुमिकामा सञ्चारकर्मी प्रितम गोले तामाङ देखिनुभएको छ भने आङीकी छोरीको रुपमा वर्षा मुक्तान हुनुहुन्छ ।
ज्ञानेन्द्र शर्माले कैद गर्नुभएको भिडियोमा सञ्चारकर्मी प्रितम दमदार रुपमा मोडलिङमा उत्रिनुभएको भान हुन्छ । यसबाट प्रितमलाई सञ्चारकर्मसँगै अभिनय क्षेत्रमा पनि स्थापित हुन खासै मुस्किल नहुने देखिन्छ ।

यद्यपी प्रितमलाई क्यामेरा फेस गर्नु र गराउनु नौलो विषय त हैन,आफैं सञ्चारकर्मी र क्यामेराम्यान भएकोले पनि उहाँमा आत्मविश्वास छ, यसअघि प्रितमले करिव दर्जन भिडियोमा मोडलिङ गरिसक्नुभएको छ ।

आफैं मिडियाकर्मी भएपनि गरेको कामको मिडियाबाजी पटक्कै नगर्ने उहाँको शैलीले ‘ताम्बाकी छोरी’,‘लेकमा जाँदा’,‘तामाङको हुल उठ्यो’ जस्ता राम्रा भिडियो गर्दा पनि मोडलको रुपमा कमैले चिन्दछन् ।

यत्तिबेला ‘आस्याङको छोरो’ यो चाँहि उहाँको चर्चामा आएको पछिल्लो भिडियो हो । जसबाट उहाँलाई यो क्षेत्रमा अझ स्थापित गराउन मद्धत पुग्नेछ नै ।  

नृत्य निर्देशक सुशील लामालेनै चुलबुले शैलीमा फिचरिङ गराउनुभएका प्रितम गोले र लजालु शैलीमा प्रस्तुत गराउनुभएका वर्षा मुक्तानको जोडिलाई दर्शक स्रोताले पनि रुचाएका छन् । जुन कुरा युट्युव च्यानलमा राखिएका यो गीतको भिडियोमा भिअर्स बढ्दै गएकोबाट पनि स्पष्ट हुन्छ ।

मकवानपुर भिम्फेदि आसपास छायांकन भएको भिडियोमा नाच्ने प्रितम,वर्षा र अन्य कलाकारलाई समेत सुन्दर देखाउन श्रृङगारतर्फ सृजना मुक्तान र डोल्मा घलानले साथ दिनुभएको निर्माण टोलीका दिपक मुक्तानले जानकारी दिनुभयो ।

युवा समाजसेवि समेत रहनुभएका दिपक सानैदेखि गीत संगीतप्रति लगाव राख्नुहुन्थ्यो । अब आफ्नो सांगीतिक यात्रा सुरु भएको जानकारी दिनुहुदै उहाँले आगामी दिनहरुमा स्रोता दर्शकबाट नटाढिने वचन व्यक्त गर्नुभयो ।

भिडियो हेर्न तलको लिंक थिच्नुहोस् :

https://www.youtube.com/watch?v=YBSqrWwGzcc&feature=youtu.be&fbclid=IwAR1yO42MswKsu87BRIjoqomm25XleryWZ1z0478scBj8_en-jl76cuDnJes

प्रतिक्रिया दिनुहोस !