
- नमोबुद्ध संवाददाता :
काठमाडौं–फेमकुमारी डोलराज साहित्य प्रतिष्ठानद्वारा शुक्रबार कवि एवं उपन्यासकार सरल सहयात्रीलाई फेडोल उत्कृष्ट सृजना पुरस्कार प्रदान गरिएको छ ।
साहित्यकार राममणि ढुंगेलद्वारा आफ्ना मातापिताका नाममा स्थापित यो पुरस्कार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले शिखरको ढुंगा उपन्यासका लागि सहयात्रीलाई प्रदान गर्नुभएको प्रज्ञा प्रतिष्ठानका सञ्चार प्रमुख शशी लुमुम्बुले जानकारी दिनुभएको हो ।
हरेक वर्ष एकजना साहित्यकारका उत्कृष्ट कृतिलाई प्रदान गर्दै आएको पुरस्कारको राशी रु दश हजार र सम्मान पत्र रहेको छ ।
साहित्यकार राममणि ढुंगेलको अध्यक्षतामा सम्पन्न पुरस्कार अर्पण कार्यक्रममा प्रमुख अतिथि पौडेलले सहयात्रीको शिखरको ढुंगा उपन्यास पर्यटन साहित्य भएर पनि यसले विषय वस्तुका विविध आयामलाई समेटेको र एउटा वैचारिक कृति भएको बताउनुभयो ।
कार्यक्रममा डा. बालाकृष्ण अधिकारी, साहित्यकार रामप्रसाद पन्त, पुरस्कृत व्यक्तित्व सरल सहयात्री र सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले मन्तव्य राख्नुभएको थियो ।