• नमोबुद्ध संवाददाता :

काठमाडौं–नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२ औं वार्षिकोत्सवका अवसरमा बिहीबार प्रतिष्ठानस्थित लोकतान्त्रिक कलाकार तथा कर्मचारी सघंले जीवन रूपान्तरण विषयक उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

प्रशिक्षणमा बोल्दै ओशो तपोवन, नेपालका प्रमुख स्वामी आनन्द अरुणले आधुनिक समयमा भौतिक सुख सयल प्राप्त भए पनि मानिसमा आत्मिक शान्ति हराउँदै गएको बताउनुभयो ।

विकसित देशमा व्याप्त यो समस्याले बिस्तारै अल्पविकसित देशहरूलाई पनि गाँज्दै लगेकोले सचेत हुने बेला आएको उहाँले बताउनुभयो । ध्यान र योगाभ्यास मार्फत आत्मिक शान्ति कायम गर्न सकिने भनाइ राख्दै उहाँले बुद्ध जयन्तीको दिनलाई विश्व ध्यान दिवसका रूपमा मनाउन नेपालले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

अर्का वक्ता आध्यात्मिक चिन्तक डा. चिन्तामणि योगीले आधुनिक दुनियाँमा मानिस गन्तव्य नै निश्चित नगरी अरूको लहैलहैमा दौडिएकाले चाहेको चिज प्राप्त गर्न नसकेको बताउनुभयो ।

गन्तव्य निश्चित गरेर सोही दिशातर्फ अगाडि बढेमा मान्छेले चाहेको चिज अर्थात् आत्मिक शान्ति प्राप्त हुने उहाँले उल्लेख गर्नुभयो । यसका लागि मान्छेले आफूलाई चिन्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा दार्शनिक प्रवचनको चाँजो मिलाएर संघले सान्दर्भिक कार्यक्रम गरेको भन्दै प्रशंसा गर्नुभयो । बुद्ध जयन्तीको दिनलाई विश्व ध्यान दिवसका रूपमा मनाउन नेपालले पहलकदमी लिनुपर्ने स्वामी आनन्द अरुणको धारणा अत्यन्तै सराहनीय भएको भन्दै त्यसका लागि प्रतिष्ठानले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपकुलपति डा. जगमान गुरुङले निरन्तरको इमान्दार प्रयत्नबाट प्राप्त हुने सफलता आत्मिक सुखको राज भएको बताउनुभयो । संघका अध्यक्ष अशोक चौरसियाले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

सभापतिको आसनबाट बोल्दै सङ्घद्वारा गठित ६२ औं वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप समिति—२०७६ का संयोजक हरि पाठकले संघले आफ्नो स्थापनाकालदेखि नै कर्मचारीको हक, हित, अधिकार र कल्याणप्रति केन्द्रित हुँदै आफ्ना कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

अघिल्लो वर्ष प्रतिष्ठानको वार्षिकोत्सवको सन्दर्भमा चित्रकला प्रदर्शनीको आयोजना गरेकोमा यस पालि दैनिक जीवनका कामहरूबाट भएको थकान र तनावबाट मुक्ति पाउन सकौँ भन्ने उद्देश्यले प्रेरणादायी प्रवचन श्रवण गर्ने मौका जुटाएको उहाँले बताउनुभयो ।

लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघ उक्त अवसरमा करिब १५० जना सहभागीको स्वास्थ्य जाँच गर्नुका साथै प्रतिष्ठानका कर्मचारीहरू सानु पुजारी र सावित्री नेपालीलाई वर्षका उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो ।

संघले वर्षैपिच्छे दुई जना उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने संघका महासचिव होमराज ढुङ्गेलले जानकारी दिनुभयो ।

संघका पूर्व कार्यबाहक अध्यक्ष बुद्धि तिमल्सिनाद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, वर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय लगायत प्राज्ञ परिषद् र प्राज्ञ सभाका सदस्यहरू, आजीवन सदस्यहरू, ट्रेड युनियन काङ्ग्रेसका नेता एवं प्रतिनिधिहरू र प्रतिष्ठानका विभिन्न ओहोदाका कर्मचारीको सहभागिता रहेको प्रतिष्ठानका प्रज्ञासभा सदस्य एवम् सञ्चार विभाग प्रमुख शशी लुमुम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !