• नमोबुद्ध संवाददाता :

धुलिखेला–काभ्रेमै पहिलो व्यवस्थित र बृहत ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ जिल्लाको मन्डन देउपुर र नमोबुद्ध नगरपालिकाले शुक्रबारबाट सुरुवात गरेका छन् ।

जिल्लाका विभिन्न १३ स्थानिय तहमध्ये मन्डन देउपुर नगरपालिकाले भने बृहत रुप दिनेगरी ६० जना युवालाई सहभागि गराई यो कार्यक्रम थालेको हो भने नमोबुद्ध नगरपालिकाले पनि शुक्रबारनै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सुरु गरेको हो ।

नगर मुकाम कुन्तावेशीमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्नुहुदै मन्डन देउपुर नगरप्रमुख टोक बहादुर वाइबाले भन्नुभयो–“कृषि तथा किसानसँग जोडिएका सबै कामहरु मलाई पनि आउँछ,मैले भन्न खोजेको यो होकी श्रमको सम्मान जरुरी छ,वैदेशिक रोजगार छोडेर बसेका समेतलाई गरी प्रत्येक वडाका ५ जनालाई समेटेर सुरुमा ६० जनालाई रोजगार दिदैछौं,यहाँहरुले ईमान्दारिताका साथ काम गर्नुभयो भने अरु अवसरहरु पनि प्राप्त हुन्छ ।”

नगर प्रमुख वाईबाले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लगत्तै आफ्नै गाउँठाउँमा केहि गर्न तदारुकता देखाउने युवालाई समहु बनाएर आएमा व्यवसायका लागि प्रतिव्यक्ति २ लाख रुपैयाँ बजेट नगरले उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

युवालाई रोजगार दिई समृद्ध नेपाल निर्माणमा उनिहरुलाई प्रत्यक्ष संलग्न गराउन अहिले पहिलो चरणमा ‘प्रधानमन्त्री रोजगार कोष’ बाट प्राप्त २९ लाख रुपैयाँ बजेटमा नगरले २० लाख थपेर यो कार्यक्रम अगाडि बढाएको प्रमुख वाईबाले स्पष्ट पार्नुभयो ।

कार्यक्रमलाई व्यवस्थित र बृहत रुप दिन नगरपालिकाले समेत यसमा बजेट थप गरेको उहाँको भनाई छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हाल युवाहरुलाई कुन्ता–जिरोकिलो तथा मन्डन देउपुर नगरपालिकाभित्रका सडक खण्डमा प्राविधिक समेतको संलग्नतामा सडक मापदण्ड अनुसार पिलरहरु गाड्न लगाईएको छ ।

नमोबुद्धमा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना

जिल्लाको नमोबुद्ध नगरपालिकाले पनि शुक्रबारनै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सुरु गरिएको छ ।

कार्यक्रमको उद्दघाटन गर्नुहुदै नगर प्रमुख टिपी शर्माले श्रमसँगै त्यसमा बगेको रगत पसीनाको उचित मुल्यांकन जोडिएको कार्यक्रम अर्थपूर्ण रहने उल्लेख गर्नुभयो ।

सरकारको मापदण्डअनुसारनै पारिश्रमिक प्राप्त हुनेगरी बेरोजगार रहेका युवाहरुलाई काममा खटाईने प्रमुख शर्माले जानकारी दिनुभयो । यसले नमोबुद्ध नगरको परिकल्पना साकार पार्न पनि महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।

उहाँका अनुसार यसमा दक्ष र अदक्ष दुबै खालका युवाको सीपको उचित मुल्यांकन गरी हौसलापूर्ण व्यवहारद्धारा काममा लगाईदैछ ।

प्रतिक्रिया दिनुहोस !