- नमोबुद्ध संवाददाता :
कुन्ता–काभ्रेमै पहिलो व्यवस्थित र बृहत ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ जिल्लाको मन्डन देउपुर नगरपालिकाले शुक्रबारबाट सुरुवात गरेको छ ।
जिल्लाका विभिन्न १३ स्थानिय तहमध्ये मन्डन देउपुर नगरपालिकाले पहिलो व्यवस्थित र बृहत रुपमा ६० जना युवालाई सहभागि गराई यो कार्यक्रम थालेको हो ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को नगर मुकाम कुन्तावेशीमा शुभारम्भ गर्नुहुदै नगरप्रमुख टोक बहादुर वाइबाले भन्नुभयो–“कृषि तथा किसानसँग जोडिएका सबै कामहरु मलाई पनि आउँछ,मैले भन्न खोजेको यो होकी श्रमको सम्मान जरुरी छ,वैदेशिक रोजगार छोडेर बसेका समेतलाई गरी प्रत्येक वडाका ५ जनालाई समेटेर सुरुमा ६० जनालाई रोजगार दिदैछौं,यहाँहरुले ईमान्दारिताका साथ काम गर्नुभयो भने अरु अवसरहरु पनि प्राप्त हुन्छ ।”
नगर प्रमुख वाईबाले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लगत्तै आफ्नै गाउँठाउँमा केहि गर्न तदारुकता देखाउने युवालाई समूह बनाएर आएमा व्यवसायका लागि प्रतिव्यक्ति २ लाख रुपैयाँ बजेट नगरले उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।
युवालाई रोजगार दिई समृद्ध नेपाल निर्माणमा उनिहरुलाई प्रत्यक्ष संलग्न गराउन अहिले पहिलो चरणमा ‘प्रधानमन्त्री रोजगार कोष’ बाट प्राप्त २९ लाख रुपैयाँ बजेटमा नगरले २० लाख थपेर यो कार्यक्रम अगाडि बढाएको प्रमुख वाईबाले स्पष्ट पार्नुभयो ।
कार्यक्रमलाई व्यवस्थित र बृहत रुप दिन नगरपालिकाले समेत यसमा बजेट थप गरेको उहाँको भनाई छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हाल युवाहरुलाई कुन्ता–जिरोकिलो तथा मन्डन देउपुर नगरपालिकाभित्रका सडक खण्डमा प्राविधिक समेतको संलग्नतामा सडक मापदण्ड अनुसार पिलरहरु गाड्न लगाईएको छ ।