नमोबुद्ध संवाददाता :
काठमाडौं–सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजना हुने ‘राष्ट्रिय सङ्गीत महोत्सव–२०७६’को सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सुपा इन्टरटेन्टमेन्ट प्रालि धनगढीको सहआयोजनामा असार ६ र ७ गते हुने महोत्सवमा सुदूरपश्चिमका सबै जिल्लाका साथै सात वटै प्रदेशका प्रतिनिधि कलाकारहरूको सहभागिता रहने सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभाग प्रमुख तथा महोत्सव संयोजक प्राज्ञ अशोककुमार राईले बताउनुभयो ।
संयोजक प्राज्ञ राईका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले उद्घाटन गर्ने महोत्सवमा १४ वटा राष्ट्रिय तथा सामाजिक भावधाराका गीत प्रस्तुत हुनेछन् ।
स्थानीय विविध सांस्कृतिक झाँकीसहित आरम्भ हुने महोत्सवको पहिलो दिन साङ्गीतिक प्रस्तुति रहने छ भने दोस्रो दिन आधुनिक नेपाली गीत–सङ्गीतमा सुदूरपश्चिमको योगदान’ विषयमका सङ्गीत विमर्श हुनेछ । सङ्गीत अन्वेषक हेमन्त विवशले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
प्रतिष्ठानले सङ्गीत साधना प्रतिष्ठानसँगको सहकार्यमा वैशाख २७ र २८ गते प्रदेश नम्बर एकको इटहरीमा प्रदेशस्तरीय बृहत् बहुभाषिक सङ्गीत उत्सव आयोजना गरिसकेको छ ।