नमोबुद्ध संवाददाता

कुन्ता–काभ्रेको मन्डनदेउपुर नगरपालिकाले सार्वजनिक रुपमा बुधबार चालू आर्थिक बर्ष २०७५⁄०७६ को वार्षिक समिक्षा कार्यक्रम गरेको छ ।

नगर मुकाम कुन्तावेशीमा आयोजित कार्यक्रममा गत आर्थिक वर्ष भए गरेका विकास निर्माणका योजनाहरुको समिक्षा र नयाँ आर्थिक वर्षमा ल्याईने नीति कार्यक्रम तथा बजेटका बिषयमा सरोकारवालाहरुसंग अन्तरक्रिया गर्दै सुझाव संकलन समेत गरिएको छ ।

कार्यक्रममा सहभागि स्थानियहरुले नगरपालिकाले जनताप्रति जवाफदेहीता र पारदर्शिताको राम्रो अभ्यास गरेकोमा खुसी व्यक्त गर्दै आगामी योजनाहरु छरिन नहुने सुझाए ।

नगरका शिक्षाप्रेमी कश्यप पौडेलले स्रोत,साधन र असल नेतृत्वकै कारण मन्डन देउपुर उत्कृष्ट नगरपालिका रहेको दावी गर्नुभयो । शिक्षा क्षेत्रमा अझै प्रगती हाँसील गर्न स्थानिय तहमै पठ्यक्रम बन्न जरुरी रहेको उहाँको धारणा छ ।

अधिकांश सरोकारवालाहरुले मन्डन देउपुरले कृषि क्षेत्रबाटै पहिचान बनाउन सक्नुपर्ने बताए । यसका लागि कृषि अनुदान,तालिम,विउविजनमा ध्यान दिनुपर्नेमा उनिहरुले जोड दिए ।

बुद्धिजीवि गोकुल गौतमले जनप्रतितिनिधि आएको दुई वर्षपछि अब राम्रा नतिजाहरु देखिन थालेको बताउनुभयो । हजारौं टुक्रे योजनाहरु भन्दा पनि थोरै तर दिगो खालको बनाउनुपर्ने उहाँको सुझाव छ ।

नगरका योजना अधिकृत शेखर आचार्यले गत आर्थिक वर्षमा नगरपालिकाबाट भएका कार्यसम्पादनका विषयमा बुंदागत विवरण सार्वजनिक गर्नुभयो ।

उहाँले आर्थिक वर्ष २०७५⁄०७६ मा ६५ करोड ७९ लाख कुल बजेटमा चालुतर्फ २६ करोड र पुंजीगततर्फ ३९ करोड बजेट रहेकोमा विकासतर्फ(पुंजीगत) २५ प्रतिशत खर्च भईसकेको जानकारी गराउनुभयो । अधिकांश योजनाहरु सम्पन्न भईसकेको उल्लेख गर्दै उहाँले निकासा बाँकी रहेको र यो आर्थिक वर्षको अन्त्यसम्ममा विकास बजेट ८० प्रतिशत खर्च गर्न सफल हुने बताउनुभयो ।

“दिगो विकासतर्फ केन्द्रित हुदैछौं”

नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले आर्थिक बर्षमा भएका महत्वपूर्ण कार्यहरुको बारेमा जानकारी गराउँदै दिगो विकासमा केन्द्रित हुने बताउनुभयो । यसका लागि जनताकै काममा समर्पित रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो–“तपाईहरुले यो ठाउँमा पठाउनुभयो,हामी तपाईहरुकै काम गर्न यहाँ छौं,जनताको काम जनतासँगै रहेर गरिन्छ,जिम्मेवार ढंगले यसरी पारदर्शिता साथ विकासकै अभियानमा छौं,अबको विकास दिगो बनाउनैपर्छ, यसमा जनप्रतितिनिधि,कर्मचारी,जनताबिच समन्वय अझ दरिलो हुनुपर्छ, यो पाली पनि कतै अनियमितता भएको गुनासो तपाईहरुबाट समेत सुनिएन यो राम्रो कुरो हो ।”

एक घर एक धारा अभियान अन्तर्गत २ हजार घर धुरीमा धारा जडान गरिसकेको बताउदै प्रमुख वाईबाले वडाबाट उठ्ने राजश्वलाई कडाई गरिएको जानकारी दिनुभयो ।

आगामी बर्षमा प्रत्येक वडामा जम्मा ५ वटा योजना छनोट गर्ने निर्णय भएको नगर प्रमुख वाइबाले स्पष्ट पार्नुभयो । गत बर्ष ३ सय भन्दा धेरै योजनाबाट चालु बर्षमा २ सय ७० वटा योजना छनोट गरिएकोमा विकास निर्माणलाई व्यवस्थित,परिपक्का र दिगो बनाउन यो पटक १ सय भन्दा धेरै योजना नबनाउने उहाँको स्पष्टोक्ती छ ।

जनभावना,आवश्यकता एवम् जनमतलाई सर्वोपरी ठानेर कामकारवाही गर्दै आएको दावी गर्दै उहाँले थप्नुभयो–“खै अरु ठाउँमा प्रमुख उपप्रमुखको मर्जीले चलाउन मिल्ने बजेटको व्यवस्था रहेको कुरा सुनिन्छ तर हाम्रोमा त्यस्तो छैन,तपाईहरुले छानेर पाठाउनुभएको जनप्रतितिनिधि सम्मीलित नगरपरिषद,कार्यपालिका बैठक,नगरको कार्यविधि,ऐन नियम विपरित हामी कहिल्यै चलेनौं,चल्दैनौ पनि किनकी हामीले चाहेको विकास हो,समृद्धि हो , सुशाषन हो ।”

प्रधानमन्त्री रोजगार कार्यक्रमको तयारी

वार्षिक समिक्षा तथा सुझाव संकलन कार्यक्रममा नगरप्रमुख वाइबाले यो शुक्रबारदेखी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागेको जानकारी दिनुभयो । सुरुमा ६० जना स्थानियलाई प्रधानमन्त्री रोजगार कोषबाट रोजगार दिन लागिएको उहाँले स्पष्ट पार्नुभयो । यसका लागि संघ सरकारबाट २९ लाख प्राप्त गरेकोमा नगरपालिकाको तर्फबाट २० लाख थपेर युवाहरुलाई रोजगार दिन लागेको प्रमुख वाईबाले बताउनुभयो । उहाँका अनुसार सर्वप्रथम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वेरोजगार रहेका ६० जना स्थानियलाई कुन्ता–जिरोकिलो सडक खण्डमा खटाईने छ ।

प्रतिक्रिया दिनुहोस !