• कृतिका घलान :

काठमाण्डौँ–समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाण्डौं महानगरपालिका वडा नं.१२ टेकुबाट ‘सुर्तिजन्य पदार्थको प्रयोग र नियन्त्रण सम्बन्धि विशेष अभियान २०७६’ आइतबारदेखी सुरुवात भएको छ ।

‘हर प्रहर, गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र, कुलेश्वर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको संयुक्त आयोजनामा यो अभियानको पहिलो कार्यक्रम टेकुमा भएको हो ।

अभियानको सुरुवातमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालदेखि शुक्रवृक्ष,टेकुरोड,पचलिमार्ग,पचलिभैरव–स्थानिय उद्योग वाणिज्य महासंघको कार्यालय हुदैं पुनः अस्पतालसम्म र्यालि निकालिनुका साथै विभिन्न सन्देशमुलक पम्प्लेट समेत वितरण गरिएको छ ।

र्यालिपश्चात टेकु अस्पताल(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) परिसरमा भएको औपचारिक समारोहलाई सम्बोधन गर्नुहुदै सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरका अध्यक्ष तथा कार्यक्रमका संयोजक गोपालकृष्ण श्रेष्ठले यस अभियानमा साथ दिन सबैलाई आह्वान गर्नुभयो ।

अब अस्पतालदेखि १०० मिटर क्षेत्रभित्र कोही कसैले सुर्तिजन्य पदार्थको बेचबिखन गरेको पाइएको खण्डमा कानूनबमोजिम कारवाही हुने जानकारी गराउनुभयो ।

उहाँले यस्तो अभियान प्रहरी,जनप्रतिनिधि र स्थानिय नागरिकको हातेमालोबाट मात्रै सफल हुने दावी गर्नुभयो । सभ्य,स्वस्थ र सुन्दर समाजको परिकल्पनाका साथ अकालमा कसैले मृत्युवरण गर्न नपरुन् भन्ने ध्ययले यो अभियान अन्तरगत यसप्रकारको कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ । अध्यक्ष श्रेष्ठले स्थानिय नागरिककै सहभागिता रहनेगरी यो अभियान टोलटोलमा सञ्चालन गर्ने योजना रहेको जनाउनुभयो ।

कार्यक्रममा स्वास्थ्य शिक्षा विभागका प्रशासक भक्त केसीले नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण विभिन्न रोगबाट संक्रमित भई धेरै व्यक्तिहरुले ज्यान गुमाउने गरेको उल्लेख गर्नुहुदै यससम्बन्धी कानूनको कार्यन्वयनमा जोड दिनुभयो । कानुन कार्यन्वयन फितलो भएको अवस्थामा यो अभियान सुरु गर्नु निकै राम्रो कदम रहेको बताउनुहुदै उहाँले अभियान सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कार्यबाहक प्रमुख डा.अनुप पौड्यालले यो अभियानको स्वागत गर्नुभयो । उहाँले सुर्तिजन्य पदार्थको प्रयोगका कारणले स्वयम् प्रयोगकर्ता र वरिपरिका व्यक्तिलाई समेत असर पर्ने भएकोले स्वस्थ जीवनयापनका लागि जोकोही सचेत रहनुपर्ने धारणा राख्नुभयो । यस्तो अभियानप्रति आफूहरुको पनि उत्तिकै साथ रहने उहाँले बताउनुभयो ।

कार्यक्रममा काठमाण्डौँ महानगरपालिका वडा नं १२ का वडाअध्यक्ष विकाश डंगोल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ कन्सलटेन्ट जनरल फिजिसियन तथा अभियान सदस्य डा. विमल शर्मा चालिसे, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका नर्सिङ अधिकृत मन्जु अधिकारी,अस्पतालका कर्मचारी,विभिन्न कलेजका तर्फबाट प्रयोगात्मक अभ्यासका लागि अस्पतालमा कार्यरत स्वास्थ्यका विद्यार्थीहरु,कलेज अफ सेन्ट्रल स्टेटका विद्यार्थीहरुका साथै सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !