- नमोबुद्ध संवाददाता :
काठमाडौं–गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यही वैशाख २७ र २८ गते ‘राष्ट्रिय अवधी सम्मेलन’ हुने भएको छ ।
अवधी भाषा, साहित्य तथा संस्कृतिसम्बन्धी दुई दिने बृहत् ‘राष्ट्रिय अवधी सम्मेलन’ को तयारी अन्तिम चरणमा पुगेको सम्मेलन संयोजक विक्रममणि त्रिपाठीले जानकारी गराउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय ५ नम्बर प्रदेश र अवधी सांस्कृतिक विकास परिषद्सँगको सहकार्यमा कपिलवस्तुस्थित शिक्षा तथा संस्कृति प्रवद्र्धन केन्द्र नेपालको आयोजनामा सम्मेलनको तयारी भइरहेको हो ।
सम्मेलनमा अवधी भाषा, साहित्य, कला तथा संस्कृतिसम्बन्धी ६ वटा कार्यपत्र प्रस्तुतिका साथै त्यसमाथि विमर्श गरिनेछ ।
सम्मेलनमा ‘विश्व परिदृश्यमा अवधी भाषाको अवस्था’ विषयमा विक्रममणि त्रिपाठी, ‘विश्व परिदृश्यमा अवधी साहित्यको अवस्था’बारे डा. रामबहादुर मिश्र, ‘अवधी भाषामा अनुवाद साहित्यको अवस्था’ सम्बन्धी प्रा.डा. सूर्यप्रसाद दीक्षित र सनत रेग्मीबाट कार्यपत्र प्रस्तुत हुनेछ ।
साथै अवधी भाषी समाजको लोकलाको दशा र दिशा विषयमा यस.सी. सुमन, अवधी भाषी समाजको लोकसाहित्यको अवस्थाका बारेमा पशुपतिमणि त्रिपाठी र राघवेन्द्रकुमार श्रीवास्तव र अवधी भाषी समाजको लोक नृत्य परम्परा सम्बन्धी जगतराम यादवले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालद्वारा उद्घाटन गरिने उक्त सम्मेलनमा प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादव, अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी माली र बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख डा. देवी नेपाल तथा भारतका विभिन्न क्षेत्रका विद्धानहरू सहभागी हुने प्राज्ञ शशी लुमुम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैशाख २९ गते आइतवार भारतबाट आउनहुने स्रष्टाहरूको स्वागतमा राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजक संस्थाहरूद्वारा आपसी विमर्श तथा काव्य गोष्ठीको आयोजना गरिने छ ।