- नमोबुद्ध संवाददाता
काठमाण्डौं–तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले आफ्नो नेतृत्व सदैव तामाङ चलचित्र कलाकार तथा निर्माताहरुको साथमा रहेको बताउनुभएको छ ।
शुक्रबार राजधानीमा कोशीपारी फिल्म प्रा.लि.को व्यानरमा तयार पारिएको तामाङ चलचित्र ‘छार ग्यालम’(नयाँ बाटो)को ट्रेलर सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष थोकरले छार ग्यालम टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
छार ग्यालम तामाङ र नेपाली(खस) भाषामा तयार पारिएको प्रति लक्षित गर्दै उहाँले भन्नुभयो–“तामाङ चलचित्र क्षेत्रमा नयाँ चलचित्र थपिएकोमा खुसी व्यक्त गर्दछु,यद्यपी तामाङ भाषामा मात्रै तयार पारिएको भएपनि चिन्ता मान्नु पर्दैनथ्यो,प्रदर्शन व्यवस्थापनमा तामाङ चलचित्र संघ पनि साथमा छ ।”
कार्यक्रममा सहभागि चलचित्र कर्मीहरुलाई समेत हौसला दिदै उहाँले भन्नुभयो–“लगानी डुब्ने होकी भन्ने डरले नेपाली(खस) भाषामा समेत डविङ गर्ने दुख नगर्नुभएनी हुन्छ,तामाङको कला सँस्कृति या तामाङ कथामा चलचित्र बनाउने यहाँहरु कोही आत्तिनु पर्दैन,केहि हदसम्म प्रदर्शनको जिम्मा तामाङ चलचित्र संघले पनि लिन्छ,कुन हलमा देखाउने हो ? कसलाई भनेर सहयोग दिलाउने हो ? यसमा म लाग्नेनै छु ।”
‘छार ग्यालम’को पहिलो प्रदर्शन डेट बैशाख १६
तामाङ र नेपाली(खस) भाषामा तयार पारिएको यो चलचित्र पहिलो पटक आउँदो बैशाख १६ गते राजधानीको राष्ट्रिय नाचघरमा प्रदर्शन गरिने भएको छ ।
सागर लामा गोलेको प्रस्तुती छार ग्यालाम(नयाँ बाटो) को पहिलो रिलिज डेट तय भएको हो । धन बहादुर तामाङ (सागर) को कथा तथा पटककथामा स्वयम्ले निर्देशन गर्नु भएको चलचित्र छार ग्यालाममा अत्याधुनिक प्रविधि अपनाइएको उहाँको दावी छ ।
चलचित्र मनोरञ्जनका साथै तामाङ मौलिक सँस्कृतिमा आधारित रहेको निर्मात्री दिपा वाइबाले बताउनुभयो । नयाँ बर्षको अवसरमा पहिलो पटक प्रदर्शन हुन लागेको यो चलचित्र दर्शकले रुचाउने विश्वास उहाँको छ ।
दिपाका साथै पविना तामाङ,बुद्दमाया तामाङ,इन्द्रमाया तामाङ, कुमारी तामाङ लगायतको निर्माण टोली रहेको चलचित्रमा नायक कुमार मोक्तान,राहुल मोक्तान र नायिका सुनिता लुङ्बा र संगीता दोङको मुख्य अभिनय छ ।
चलचित्रमा धुर्व तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइवा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठले पनि खेलेका छन् ।
रुपेन मोक्तान,सुदिप ङेसुर र राहुल मोक्तानको शब्दमा बुद्ध स्ह्याङवा, सुदिप ङेसुर र प्रयास दोङले संगीत दिनुभएकोमा ति गीतहरु विशाल काल्तान,जितु लोप्चन,सुरेश लामा,बविता पाख्रिन,पुर्णिमा लामा,सुदिप ङेसुरले गाउनुभएको छ ।
राजु किराँतको द्धन्द,तुल्सी बाँस्कोटाले सम्पादन गर्नुभएको यो चलचित्रको छायांकार लक्ष्मण घिमिरे हुनुहन्छ । जहाँ कलाकारलाई रमेश थापा र विरवहादुर लामाले नचाउनुभएको छ ।