• नमोबुद्ध संवाददाता

काठमाण्डौं–साहित्य,कला र रंगमञ्चमार्फत मौलिकताको खोजीका लागि सुरु गरिएको ‘जेसुम यात्रा’को छैठौं शृंखला शनिबार राजधानीको बूढानीलकण्ठ नगरपालिकास्थित विष्णुद्वार हुँदै डाँडागाउँ (पेन्देल) गाउँमा पुगेर समापन भयो ।

बुढानिलकण्ठबाट हाईकिङ गरी विष्णुद्धार पुगेका साहित्यकार,चित्रकारहरुको टोली १ घण्टा यहि आसपास कला साहित्य सिर्जनामा व्यवस्त देखिए । उनिहरुले आफ्ना कलामा विष्णुद्धारको प्राकृतिक छटा,धार्मिक तथा ऐतिहासिक पाटोलाई समेटे ।

कला सिर्जनालाई सहजिकरण गर्दै टोली संयोजक अनिता लामाले भन्नुभयो –“यहाँ हरेक नयाँ वर्षमा मेला लाग्ने गर्छ,चैत मसान्तको राती बाघद्धारबाट विष्णुद्धार आउने,विष्णुद्धारबाट टोखाको सप्नातिर्थमा भोलीपल्ट विहान (नयाँ वर्षको दिन) पुगेर मेला भर्ने गरेको पाईन्छ । यो क्षेत्र शिवपुरी नागर्जुन निकुञ्जमा पर्नु र यहाँ आर्मी क्याम्प पनि रहेकोले द्धन्दकालमा सुरक्षाका कारण राती मेला भर्न रोक लगाईयो,त्यसयता यो क्रम बन्द भयो ।”

यात्रालाई यो ठाउँसँग जोड्नुको कारण स्पष्ट पार्दै उहाँले भन्नुभयो–“स्थानिय तहले यसलाई अहिले पुर्नजागृत गर्ने तयारी थालेकोमा यसमा सघाउन यो हाम्रो यात्रा निकै सहयोगी बन्नेछ,यहाँकै कुराहरु हामी कलामार्फत बाहिर उजागर गर्छौं ।”

हाइकिङकै क्रममा बुढानिलकण्ठ फेदीमा भेटिएका स्थानीय वडा अध्यक्षहरू विजय तामाङ, बालकृष्ण श्रेष्ठ र सनातन धर्म सेवा समाज बूढानीलकण्ठका अध्यक्ष विकास तामाङले स्थानीय विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो । उहाँहरूले बूढानीलकण्ठको स्थानीय सम्पदाको बयान गर्दै सांस्कृतिक पर्यटनबारे प्रकाश पार्नुभएको हो ।

पेन्देल गाउँमा भव्य स्वागत

चित्रकार र कवि विष्णुद्वारको यात्रापछि डाँडागाउँ(पेन्देल गाउँ)मा आईपुगे । जहाँ स्थानीय सामुदायिक होमस्टेका आमा समूहले तामाङ संस्कार अनुसार स्वागत गरे ।

खादा,घ्यूमा टोटलाको फूलको टिका लगाउँदै स्वागत गरेका डम्फूरे सहितका आमा समूह र गाउँलेहरूले डम्फू बजाउँदै गीत गाएर जेसुम यात्राकी संयोजक अनिता लामालाई डोलीमा हाले । त्यसपछि डम्फूरेहरुको साथमा नाचगान गर्दै स्रष्टाहरू गाउँ घुमे ।

होमस्टेका परिकल्पनाकार एवं तामाङ चलचित्रकर्मी धोर्जे तामाङले स्रष्टाहरूलाई गाउँमा पहिलोपटक स्वागत गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

 

 

चित्रकार र साहित्यकारहरु गाउँलेहरुको सहभागितामा गाउँकै बालविकास आधारभूत विद्यालयमा आफ्ना कला प्रदर्शनी र साहित्य वाचनमा रमे । यहाँ विष्णुद्वारमा सिर्जना गरिएको घुम्ती कला प्रदर्शनी र कवि गोष्ठीसमेत गरिएको हो ।

गोष्ठीमा कवि सुरेश हाचेकाली, अनिता लामा, फूलमान बल, बिना थिङ, जिचेन स्याङतान, नवराज खतिवडा, बाबु साइँला लगायतले विष्णुद्वारको प्राचीन सभ्यता र प्राकृतिक सौन्दर्य समेटिएर कविता सुनाउनुभयो ।

साथै चित्रकार दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासिमा, भीम सुब्बा तामाङ, प्रकाश मानन्धर, विक्रम प्रजापती लगायतले जंगली सौन्दर्यलाई क्यानभासमा उतार्दै तयार पार्नुभएको चित्रहरु प्रदर्शनीमा राखिएको थियो । चित्रकलामा लेकाली जंगलका जरादेखि लहरा,नदीनाला र प्रकृतिक सुन्दरता समेटिएको पाउँदा स्थानिय पनि दंग देखिए । कविता सुन्न र कला प्रदर्शनी हेर्न आएका स्थानियले कविता र चित्रकलामा आफ्नोपन पाएका थिए ।

मौलिकताको खोजी गर्दै स्थानीय संस्कृति, सम्पदा र ज्ञान परम्परालाई प्रर्वद्धन गर्ने ध्येयकासाथ सुरु भएको यो यात्राप्रति खुसी व्यक्त गर्दै सांसद दिपक निरौला,मेयर उद्धव खरेल र स्थानिय अगुवा दोर्जे तामाङले शुभकामना व्यक्त गर्नुभयो । स्थानिय सरकार अहिले बुढानिलकण्डलाई ‘सिर्जना हब्’ बनाउने परिकल्पनाका साथ लागेको जानकारी दिनुहुदै मेयर खरेलले स्थानिय प्रकृति र सँस्कृति झल्कने कविता वाचन गर्नुभयो ।

छुट्टिनेबेला होमस्टेका परिकल्पनाकार एवं तामाङ चलचित्रकर्मी समेत रहेका दोर्जे भन्दै हुनुहुन्थ्यो–“यहाँका आमा समूह निकै उत्साहका साथ लागि परेको छ,हामी हाम्रो मौलिक चिजहरु सबैलाई देखाउन चहान्छौं,यि चिजको प्रवद्र्धनमा यहाँहरुको साथ पछिसम्म रहने अपेक्षा पनि गरेका छौं,फेरि फेरि आउँदै गर्नुहोला,थुजेछे ।”

जामछेन विजया चैत्यबाट सुरु भएको यात्राको  फोटो फिचार

 

 

 

 

प्रतिक्रिया दिनुहोस !