• नमोबुद्ध संवाददाता

काठमाण्डौं–शिक्षा मन्त्रालयले एसइई परीक्षाको सम्पूर्ण प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ । प्रश्नपत्रहरु बाहिरिन थालेपछि मन्त्रालयले शुक्रबार परीक्षा केन्द्रहरुमा प्रश्नपत्रको पोका रुजु गराउन निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको एसइई उच्चस्तरीय सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको शिक्षा सचिव खगराज बरालले जानकारी दिनुभयो ।

शिक्षा सचिव बरालले एसइई परीक्षा प्रणाली नै ‘फेल’ गराउन सांगठनिक रुपमा अपराध हुन थालेको टिप्पणी गर्नुभयो ।

दोस्रो पटक परीक्षा स्थगित भएपछि २ नम्बर प्रदेशका विद्यार्थी आन्दोलित

पत्रकार जनार्जन खत्रीका अनुसार लगातार दुई वटा विषयको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएपछि २ नम्बर प्रदेशका विद्यार्थी आन्दोलित भएका छन् । शुक्रबार अनिवार्य सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको पुष्टी हुनासाथ राष्ट्रिय परीक्षा बोर्डले प्रदेश दुईमा नियमिततर्फ सामाजिक विषयको परीक्षा स्थगित गरेको हो ।

यसअघि बिहिबार पनि परीक्षा हुनुभन्दा अघिनै अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको पुष्टी भएपछि लिइसकिएको परीक्षा समेत रद्द गरिएको थियो । बारम्बार परीक्षा स्थगित भएपछि विद्यार्थीहरु सडक आन्दोलनमा उत्रिएका हुन् । आक्रोशित विद्यार्थीले शुक्रबार सर्लाही सदरमुकाम मलङ्गवामा टायर बालेर प्रदर्शन गरेका छन् ।

अन्य ठाउँको लापरवाहीले दोस्रो पटक परीक्षा स्थगित भएपछि असन्तुष्ट विद्यार्थीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दीमा पनि नाराबाजी गरेका थिए । रातीनै प्रश्नपत्र बाहिरिएको हल्लाका बीच बिहान परीक्षा केन्द्रमा पुगेका विद्यार्थी परीक्षा स्थगित भएको जानकारी गराउनसाथ आक्रोशत भएका थिए ।

प्रतिक्रिया दिनुहोस !