• नमोबुद्ध संवाददाता

काठमाण्डौं–राजधानीमा शुक्रबार लगानी सम्मेलन सुरु भएको छ । दुई दिन सम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।

ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनि भएकोले लगानीको राम्रो अवसर रहेको बताउँदै विभिन्न देशबाट आएका लगानी कर्ताहरुलाई अपार अवसर भएको क्षेत्रमा लगानी गरी ३ करोड इमान्दार र मेहनती जनताको जीवन स्तर उकास्न सहयोग गर्न आह्वान गर्नुभयो ।

उहाँले नेपाललाई सन् २०३० सम्ममा सहस्राब्दी लक्ष्य हासिल गर्दै देशलाई मध्यमस्तरको आम्दानी भएको देशका रुपमा रुपान्तरण गर्न चाहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको लामो समय देखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पुरा हुदै गरेको दावी पनि गर्नुभयो ।
सम्मेलनमा ४० देशका ७ सय बढी प्रतिनिधि सहभागि छन् ।

सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गरिदैछन् ।

प्रतिक्रिया दिनुहोस !