नमोबुद्ध संवाददाता :

अबुधाबी–नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यको विकासमा प्रवासी नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । उहाँले नेपाली साहित्य आजको स्थितीमा आईपुग्न विभिन्न देशमा रहेका प्रवासीले गरेको योगदानको स्मरण गर्नुभएको हो ।

नेपाली दूतावासद्वारा युनाइटेड अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा शनिबार आयोजित स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–“ नेपाली साहित्यको विकासमा प्रवासी नेपालीको महत्वपूर्ण भुमिका छ , कर्मको क्रममा यहाँहरु जहाँ जहाँ हुनुहुन्छ,तिनै देशबाटै राष्ट्रियताको जगेर्ना पनि गरिरहनुभएको छ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानले पछिल्लो समयमा भाषा, साहित्य र संस्कृतिको विकासका लागि विभिन्न देशहरुसँग द्विपक्षीय सम्बन्ध स्थापना गरी विभिन्न कार्यक्रम गर्दै आएको उप्रेतीले जानकारी गराउनुभयो । सो क्रममा यूएईस्थित प्रबासी नेपाली साहित्यकारहरुले उहाँलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै यूएईका लागि कार्यबाहक नेपाली राजदूत सागर फुयालले यूएईमा कुलपति स्तरको पहिलो भ्रमण साहित्यिक हिसाबले निकै महत्वपूर्ण भएको दावी गर्नुभयो । दूताबास र प्रतिष्ठान मिलेर साहित्यिक गतिविधिलाई तीव्र पार्न सके प्रबासमा पनि नेपाली साहित्यको थप विकास गर्न सकिने उहाँको धारणा थियो ।

कार्यक्रम संयोजक जे. सागरले आफूहरुले साहित्यिक गतिविधिलाई तीव्र पर्ने उद्देश्यले सिर्जना वाचन डबली मार्फत स्रष्टाहरुलाई सिर्जना वाचन गर्ने अवसर प्रदान गरिरहेको भन्दै कुलपतिको भ्रमणले आफू र अन्य साहित्यकारहरुलाई थप हौसला मिलेको बताउनुभयो ।

सो क्रममा साहित्यकार कृष्ण गुरुङ, चन्द्र तुम्बाहाम्फ,सेल्कर पाख्रिन तामाङ,शाश्वत ढुङ्गाना, भूपेन्द्र आचार्य, डी.एल. घिमिरे, टक गुरुङ, घायल दीपक कार्की, जे. सागर लगायतले रचना वाचन गर्नुभयो । उहाँहरुको रचनामा प्रबासमा आफूहरुले भोग्नु परेका पीडा र त्यसले आफ्नो परिवारमा परेको असर पोखिएका थिए ।

प्राज्ञ शशि लुमुम्बुका अनुसार पाकिस्तान एकेडेमी अफ लेटर्सको निमन्त्रणामा एक सेमिनारमा सहभागी हुन इस्लामाबाद पुग्नुभएका कुलपति उप्रेतीसहितको टोली काठमाडौँ फर्किने क्रममा अबुधाबी पुगेको हो ।

प्रतिक्रिया दिनुहोस !