नमोबुद्ध संवाददाता :

काठमाण्डौं–सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा चोलेन्द्र शमसेर जबराले नियुक्ती पाउनुभएको छ । ओमप्रकाश मिश्रले उमेर हदका कारण अवकाश लिएपछि सर्वोच्च अदालतको नेतृत्वमा जबरा नियुक्त हुनु भएको हो । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई बुधबार न्यायालयको उच्च पद प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै उहाँले बुधबारनै सर्वोच्च अदालतमा पदभार ग्रहण गर्नुभएको छ । संसदीय सुनुवाई समितिले मंगलबार उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । उहाँ २०७९ सालसम्म प्रधानन्यायाधीश बन्नु हुनेछ । प्रजातन्त्र स्थापनापछि पूर्ण कार्यकाल प्रधानन्यायाधीश हुने जबरा पहिलो व्यक्ति हुनुहुन्छ ।

को हुन् जबरा ?

२०१४ सालमा काठमाडौंमा जन्मिनुभएका जबरा, २०४७ सालपछि पूर्ण कार्यकालको प्रधानन्यायाधीश हुने पहिलो व्यक्ति हुनुहुन्छ । आगामी ०७९ सालसम्म न्यायालयको नेतृत्व सम्हाल्न लाग्नुभएका जबराले आफ्नो चार वर्षे कार्यकाल विवादरहित बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

अनियमितता र भ्रष्टचाररहित न्यायालयको परिकल्पना सहित उहाँले अघि सारेको अवधारणा पत्रमा न्यायालयलाई प्रविधियुक्त बनाउने उल्लेख छ । २०१४ मंसिर २८ गते जन्मीनुभका जबरा २०३६ मंसिर ६ देखि कानुन व्यवसायमा प्रवेश गर्नुभएको हो ।

२०३९ सालदेखि २०४९ सम्म तत्कालीन काठमाडौं नगरपञ्चायतको कानुनी सल्लाहकार रहनुभएका जबरा २०५२ को चैत मसान्तसम्म कानुन व्यवसायमा सक्रिय हुनुहुन्थ्यो । त्यसपछि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएर २०७१ जेठ १३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनु भएको हो । उहाँले अहिलेसम्म झण्डै ११ हजार मुद्दा फस्र्योट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !