नमोबुद्ध संवाददाता :

काठमाडौँ–नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको यो पटकको प्रतिभा सम्मान दार्जलिङकी प्रसिद्ध गायिका दावा ग्याल्मोले प्राप्त गर्नुभएको छ । नेपाली गीत–संगीतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत ग्याल्मोलाई दोसल्ला, ताम्रपत्र र बीस हजार राशिसहितको ‘प्रतिभा सम्मान’ दिइएको हो । त्यस्तै प्रतिभा पुरस्कार भने गोरखाका युवा लेखक तथा अनुवादक बलराम अधिकारीलाई प्रदान गरिएको छ । उहाँलाई निबन्ध तथा अनुवादका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत ताम्रपत्र र एक लाख रुपैयाँ नगद राशिसहितको ‘प्रतिभा पुरस्कार’ दिइएको हो ।

शनिबार प्रज्ञा भवन, कमलादी, काठमाडौँमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले उक्त सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो । उहाँले नेपाली भाषा, साहित्य, कला तथा संगीतका क्षेत्रमा दार्जलिङको अतुलनीय योगदान रहेको बताउनुभयो । उहाँले ग्याल्मोजस्ती प्रभावशाली गायिका र युवा निबन्धकार तथा अनुवादक अधिकारीलाई बेलायतमा रहेको नेपाली वाङ्मयिक संस्थाले सही मूल्याङ्कन गरी सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुर र कवि श्रवण मुकारुङले प्रतिभा प्रतिष्ठानले भाषा, साहित्य, कला र संगीतका क्षेत्रमा योगदान दिएका स्रष्टालाई सम्मानित तथा पुरस्कृत गर्दै सत्कार्य गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा संगीतकार आभाष र संस्कृतिविद् भक्त राईले सम्मानित तथा पुरस्कृत प्रतिभाका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष दीपा राई लिम्बू, वरिष्ठ उपाध्यक्ष गणेश राई, कोषाध्यक्ष देवेन्द्र खेरेस र मानार्थ सदस्य एवम् नेपाल संयोजक शशी लुमुम्बूले संस्थाका कार्य तथा पुरस्कारका विषयमा आआफ्ना धारणा राख्नुभयो ।

समारोहमा सम्मानित तथा पुरस्कृत प्रतिभा ग्याल्मो र अधिकारीले आआफ्ना अनुभूति राख्ने क्रममा नेपाली साहित्य तथा संगितमा थप उर्जा मिलेको बताउनुभयो । एघारा वर्षअघिदेखि आरम्भ भएको सम्मान तथा पुरस्कारद्वारा अहिलेसम्म २२ जना सम्मानित तथा पुरस्कृत भइसकेका प्रतिष्ठानका नेपाल संयोजक शशी लुमुम्बूले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !