नमोबुद्ध संवाददाता :

काठमाण्डौं–सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले समृद्धि पैसामा मात्रै सीमित नरहने बताउनुभएको छ । नेपाल कला संस्कृतिमा धनी देश रहेको उल्लेख गर्दै उहाँले समृद्धिको महत्वपूर्ण पाटो संस्कृति रहेको बताउनुभयो । आजको समय लगनशिलता कम र नतिजा छिटो खोज्ने प्रवृत्तिले पैसानै सवथोक हो भन्ने गलत मानसिकताको विकास भएको उहाँको भनाई छ ।

भक्तपुरको रेडियो जनसञ्चार एफएमबाट प्रशारण हुदै आएको तामाङ भाषाको कार्यक्रम ‘छोर्वाला काअी’को पाँचौ वार्षिक उत्सव तथा ‘हाम्रो समृद्ध नेपाल’ संस्थाको घोषणा सभामा सञ्चारमन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो । राष्ट्रियसभा गृहमा शनिबार अशोक कमर्सियल एण्ड आवास कम्पनीको मुख्य प्रायोजनमा आयोजित भव्य समारोहलाई सुरुमै “ल्हास्सो फ्याफुल्ला” भनेर सम्बोधन थालेका बाँस्कोटालाई हजारौं दर्शकले गडगडाहट ताली दिएका थिए । त्यस लगत्तै उहाँले भन्नुभयो–“हामीले पैसामा मात्रै समृद्धि खोज्यौं तर बुझ्न जरुरी छ संस्कृति समृद्धिको अभिन्न पाटो हो,यसलाई हामीले विभिन्न योजनासाथ अर्थोपार्जनसँग जोड्न सक्छौं, साँस्कृतिक पर्यटनको अवधारणा हामीसँग छ ।”

कला संस्कृतिमार्फत पृथक पहिचान फिजाउन सफल तामाङ समुदायको प्रगतिका लागि राज्य उत्तिकै जिम्मेवार रहेको उहाँको भनाई छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले आफ्नै पहलमा काभ्रेमा बुद्ध सर्किट र महाभारत पथमार्ग घोषणासँगै संस्कृति प्रवद्र्धनका अन्य विभिन्न योजनाहरु थालिएको जानकारी पनि दिनुभयो ।

उक्त समारोहमा उज्यालो नेपालका नायक कुलमान घिसिङलाई ‘कार्यसिद्धि सम्मान’ र गीत संगितका पहिलो नेपाल आईडल बुद्ध लामालाई सम्मलाई ‘प्रतिभा सम्मान’ प्रदान गरियो । सम्मानपत्र प्रदान गर्दै बाँस्कोटाले तामाङ समुदाय शैक्षिक पाटोमा अघि बढे कुनमान घिसिङ जस्ता थुप्रै प्रतिभाहरुको जन्म हुने बताउनुभयो ।

पुर्व कानून न्याय तथा संसदिय मामिलामन्त्री शेर बहादुर तामाङले तामाङ दोङरापको प्रवद्र्धनमा तामाङ भाषाको कार्यक्रम‘छोर्वाला काअी’ले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । काभ्रे क्षेत्र नम्बर १ का संघिय सांसद गंगाबहादुर दोङ बमध्वजले तेमालमा तामाङ संग्रहालयको निर्माण थालिने बताउनुभयो ।
औपचारीक समारोहपछि चर्चित कलाकारहरुले सांगितीक प्रस्तुति दिए । समुदायको पक्षमा राज्यसँग मुकाबिला गर्ने,जागरण पैदा गराउने र सँस्कृति प्रवद्र्धन गर्ने गरी सञ्चालन हुने तामाङ भाषाका विभिन्न रेडियो कार्यक्रमहरुमध्ये भव्य रुपमा वार्षिक उत्सव मनाउने अवसर पाएकोमा ‘छोर्वाला काअी’का प्रस्तोता एवम् ‘हाम्रो समृद्द नेपाल’ का अध्यक्ष सुदिन दोङले खुसी व्यक्त गर्नुभयो ।

तामाङ भाषा,साहित्य,संस्कार,धर्मसंस्कृति,रीतिरिवाज,परम्परा,रहनसहन साथै आधुनिक दुनियाँमा तामाङहरुको अवस्था लगायत विभिन्न विषयमा आफ्नो अलग पहिचान बनाउँदै आएको रेडियो कार्यक्रमका साथै अन्य सामाजिक अभियानहरु समेत अब ‘हाम्रो समृद्द नेपाल’ बाट हुने महासचिव मिलन लामाले बताउनुभयो ।

संस्थाका उपाध्यक्ष विकासबाबु श्रेष्ठले आगामी उद्धेश्यबारे जानकारी दिनुहुदै गैरसरकारी पब्लीक फोरम‘हाम्रो समृद्द नेपाल’ सकारात्मक सोचका साथ समृद्ध नेपाल निर्माणतर्फ लम्किने प्रतिवद्धता जनाउनुभयो ।
सञ्चारमन्त्री बाँस्कोटाले के बोले ? हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस !