तिर्थमान वल :

काठमाण्डौं–‘मिस तामाङ २०१९’ को आवेदन शुक्रबारदेखी खुला गरिएको छ । पछिल्लो ११ वर्षदेखी प्रत्येक वर्ष आलोपालो साधना कला केन्द्र र एभरेष्ट फेसन होमको आयोजनामा हुदै आएको ‘मिस तामाङ २०१९’ का सहभागि हुन चाहने तामाङ युवतीहरुमा आवेदन आह्वान गरिएको हो ।

यस संस्थाले तामाङ युवतीहरुको आफुभित्र भएका क्षमतालाई बाहिर ल्याई तामाङ जातिको कला, सँस्कृति, भेषभुषा, बाजा, रीतिरीवाज तथा धर्मको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले यो पटक पनि तयारी थालिएको एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामाले राजधानीमा शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो । ‘मिस तामाङ २०१९’लाई भव्य साँस्कृतिक उत्सवको रुपमा विकास गर्नेगरी तयारी थालिएको उहाँको भनाई छ ।

 

यो पटकको विशेषता र योग्यता :

तामाङ कला कौशल तथा मौलिकताको धरातलमा उभिएर गर्ने यो कार्यक्रम यो पाली अझ व्यवस्थीत र पृथक बन्ने उहाँको दावी छ । यस पटकको विजेता खास खास समुदायमा मात्रै सिमित हुनुपर्ने छैन,यसको दायरा फराकिलो बनाउने सोचका साथ विभिन्न संघसंस्थासँग कुरा भईरहेको उहाँको भनाई छ । उहाँले अब ‘मिस तामाङ २०१९’का विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा समेत सहजै भाग लिन पाउने स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा ‘मिस तामाङ २०१९’ मा सहभागीताको लागि तामाङ जातिको हुनुपर्ने,१६ वर्ष देखि २८ वर्ष उमेर समुहको हुनुपर्ने, कम्तीमा ५ फिट उचाई हुनुपर्ने लगायतका योग्यता निर्धारण गरेको जानकारी पनि दिईयो । आयोजकका अनुसार यसमा संसारभरिकै देशहरुबाट तामाङ युवतीले सहभागीता जनाउन सकिनेछन् ।

यसमा भाग लिन चाहनेहरुले आगामी माग ४ गते सम्ममा एभरेष्ट फेशन होम, पुतलीसडकमामा फाराम बुझाउनु पर्नेछ । उनिहरुको प्रारम्भीक छनौट माघ ५ गते हुने छ । प्रारम्भीक छनौटमा परेकाहरुलाई आत्मविश्वास,व्यक्तित्व विकास तथा सँस्कृति जागरण लगायतका विभिन्न विषयका माघ ७ गते एक महिने तालिम शुरु गर्ने फेसन होमकी अध्यक्ष लामाले जनाउनुभयो ।

अवार्ड,पुरस्कार के कत्ति ?

आयोजकका अनुसार विभिन्न चरणका राउण्ड पार गराउदै अन्तिम विजेता छानिनेछ । त्यसमा ‘मिस तामाङ २०१९’ को विजेतालाई रु १ लाख नगद, सिल्बर क्रोउन र गिफ्ट हेम्पर दिईनेछ । त्यस्तै फास्ट रनर अपलाई रु. ५० हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ड रनर अपलाई रु. २५ हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्परको व्यवस्था गरिएको छ । १० जनालाई भने विभिन्न सबटाईटल अवार्ड प्रदान गरिनेछ ।

ति विजेता घोषणा तथा अवार्ड वितरण आगामी फागुन १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा २८५५ औं सोनाम ल्होसारको अवसरमा भव्य समारोह गरी गरिने आयोजकले जनायो ।

 

प्रतिक्रिया दिनुहोस !