नमोबुद्ध संवाददाता :
मण्डन देउपुर नगरपालिका जिल्लाकै पहिलो साक्षर नगर घोषित भएको छ । नगरपालिकाभित्रका ९५ प्रतिशत भन्दा बढि स्थानिय साक्षर भएपछि शुक्रबार एक औपचारीक समारोहको आयोजना गरि साक्षर नगर घोषणा गरिएको हो । समारोहमा नेपाल सरकारका प्रवक्ता,सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसीले नगर प्रमुख टोक बहादुर वाईबालाई नगर साक्षर भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले मण्डन देउपुर नमुनाको रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । युरोपेली मुलुकहरुमा समेत साक्षरता दर ९० प्रतिसम्म नरहेको तथ्य प्रश्तुत गर्दै उहाँले भन्नुभयो–“शिक्षाको विकासमा भूगोल वाधक बन्दैन,भौगोलिक रुपमा हामीभन्दा विकट जाजरकोटमा पनि युरोपेली केहि मुलुकको भन्दा बढि साक्षरता दर छ । हामीमा ईच्छाशक्ति चाहिन्छ,संकल्प चाहिन्छ,सपना पुरा हुदै जान्छ ।”
आजको प्रविधिलाई जनजीविकासँग प्रत्यक्ष जोड्न आवश्यक रहेको भन्दै उहाँले नगरको शैक्षिक गुणात्मक पाटो अझै दरिलो बनाउन विज्ञान तथा कम्प्युटर प्रयोगशाला बसाउने काम थालिसकेको जानकारी दिनुभयो ।
प्रशासकिय अधिकृत मोहन अधिकारीले नगरका ४० भन्दा बढि विद्यालय,सामुदायिक अध्यन केन्द्र,विभिन्न सामाजिक संघसंस्था,वुद्धिजीवि लगायतको सहयोगकै कारण नगरलाई साक्षर नगर बनाउन सकिएको बताउनुभयो ।
नगरप्रमखु टोक बहादुर वाईबाले नगरको शैक्षिक विकासमा नयाँ प्रविधि समेत अपनाइएको जानकारी दिनुभयो । विज्ञान प्रविधिलाई वुझ्नुपर्ने र जीवनमा लागु गरे विज्ञान वरदान सावित हुने आजको युगमा सोही मुताबिक पठनपाठन थालिएको उहाँको भनाई छ । कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका उपसभापति अच्यतु प्रसाद पौडेलले साक्षर नगर घोषणाले दिर्घकालिन् रुपमा सकारात्मक प्रभाव छोड्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्साल,वसुन्धरा हुमागाई,जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी लगायतले पनि नगरको कामको प्रसंशा गर्नुभयो । सांसद हुमागाईले मण्डन देउपुर नगरपालिकामा प्रदेशको तर्फबाट यो पटक हालिएको ५० लाख बजेटेको उपलब्धी हााँसील गरेरै छाड्नुपर्ने बताउनुभयो ।
नगर विकासमा योगदान दिएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको समारोहमा प्रदेशसभा सदस्य लम्सालले मण्डन देउपुर नगरको मुहार फेर्न प्रदेश सरकार पनि उत्तिकै तल्लिन रहेको बताउनुभयो । नगरलाई थुप्रै बस्तीसम्म जोड्ने सडक विकास तथा अस्पताल निर्माण गर्ने लगायतका योजनाहरु अघि बढेको उहाँको भनाई छ ।
उहाँले शिक्षाको विकासमा मण्डन एक कदम अघि बढेको भन्दै नगरपालिकालाई बधाई दिनुभयो । उहाँले भन्नुभयो–“हामीमा निहित सकारात्मक सोच,लगाव र कार्यशैलीकै कारण आज यो उपलब्धी हाँसील भईरहेको छ ।” युवा रोजगार अभिवृद्धिका लागि आफु सदा तत्पर रहेको उल्लेख गर्दै उहाँले अर्थ उपार्जन हुने सानातिना उद्योगका विषयमा थुप्रै विकल्पहरु रहेको जनाउदै ति विकल्पहरुतिर सोच्न युवा पंक्तीलाई आग्रह गर्नुभयो ।
सांसद लम्सालले अरु के भने ? भिडियो हेर्नुहोस् ।