नमोबुद्ध संवाददाता :

काठमाण्डौं–राष्ट्रियसभाले तीनै तहका सरकार सञ्चालनमा देखिएका द्धन्दमाथि छदफल चलाउने भएको छ । संघ, प्रदेश र स्थानीय सरकारबीच देखिएको विवाद,काम गर्दा पर्ने अप्ठ्यारो लगायतका विषयमा आज राष्ट्रियसभाको समितिले छलफल गर्नेभएको हो । संघीय संरचनामा उत्पन्न विवाद बढ्दै जानुलाई संघियता असफल बनाउने चालबाजी हो भन्ने विश्लेषण हुन थालेपछि आज राष्ट्रिय सरोकार तथा समन्वय समितिले यिनै विषयमा छलफल चलाउन बैठक डाकेको हो ।

संघीयता कार्यान्वयनमा देखिएका चुनौती समाधानमा भएका प्रगतिबारे जान्न समितिले बैठकमा अर्थ, कानुन, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीलाई एकसाथ बोलाएको समितिले जनाएको छ । बैठकमा तीन तहबीच देखिएको विवादका साथै गुनासो सम्बोधन तथा तहगत समन्वयबारे छलफल केन्द्रित हुने समितिका एक सदस्यले जानकारी दिए ।

सरकारले आवश्यक कानुन, जनशक्ति तथा स्रोतसाधन नदिँदा संवैधानिक अधिकार प्रयोगमा बाधा उत्पन्न भएको प्रदेश तथा स्थानीय सरकारको गुनासो छ । संविधानले तीन तहबीच समन्वयका लागि संघीय कानुन बनाउन सकिने भनेको छ । कानुन र आवश्यक संरचना नभएकै कारण तीन तहबीच छलफलको साझा थलो निर्माण हुन सकेको छैन । बैठकमा जिल्ला समन्वय समिति महासंघ, नगरपालिका संघ र गाउँपालिका महासंघका प्रतिनिधिलाई समेत बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस !