नमोबुद्ध संवाददाता :

काठमाण्डौं–नेपाली सेनाले काठमाण्डौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रस्थान विन्दु खोकना नै उपयुक्त भएको स्पष्ट पारेको छ । पूरातात्विक सम्पदा, श्रीकाली मन्दिर मासिने भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि फास्ट ट्रयाकमा खोकनाको विकल्प खोजिएको थियो ।

स्थानिय जनप्रतिनिधि समेत स्थानीयबासीको पछि लागेका थिए । स्थानियको मागलाई समर्थन गर्दै जनप्रतिनिधिले पनि फर्सिडोललाई प्रस्थान विन्दूका रुपमा अघि सारेका थिए । तर, सेनाले फर्सिडोललाई प्रस्थान विन्दु बनाउँदा राजधानीबाट एक घन्टामा तराई पुग्न सम्भव नहुने बताएको छ । फर्सिडोललाई बनाउँदा नयाँ रेखांकन स्वीकृत गर्नुपर्ने भन्दै नेपाली सेनाले अहिलेकै अवस्थामा खोकनाबाट नै फास्ट ट्रयाक निर्माणको वातावरण बनाइदिन राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई आग्रह पनि गरेको छ ।

शुक्रबार बसेको संसदको विकास तथा प्रविधि समितिमा नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्र खाँडले फर्सीडोलमा प्रवेश विन्दू बनाउँदा मध्य सहर तथा चक्रपथसँग जोडिने लिंक रोडका लागि जग्गा अधिग्रहण गर्नुपर्ने र स्थायी भौतिक संरचनाको समेत क्षति व्यहोर्नुपर्ने धारणा राख्नुभयो ।
फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको सेनाका अनुसार खोकना क्षेत्रमा ५१ प्रतिशत जग्गाको मुआब्जा समेत वितरण भइसकेको र बाँकी ४९ प्रतिशत क्षेत्रफल अधिग्रहणका लागि पुरानै मुल्याकंन अनुसार हुनेछ । तर, फर्सिडोलमा यस्तो प्रक्रिया फेरि सुरु गर्दा जग्गा र संरचनाको मुआब्जा धेरै दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस !