नमोबुद्ध संवाददाता

बनेपा–काठमाण्डौं र भक्तपुरमा दर्शकको अपार माया बटुल्न सफल तामाङ कथानक चलचित्र “घ्रान” (कसम) काभ्रेको बनेपामा पनि प्रर्दशन गरिदैछ । प्राविधिक पाटोमा पछिल्लो समय राम्रै दर्जा पाएको यस चलचित्र असोज २७ गते शनिबार विहान ११ः३० बजे मयुर हलमा प्रदर्शन गर्न लागेको निर्माण पक्षले जनाएको छ ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएपनि सर्वसाधारणले अझै दुख पिडा खेप्नुपरेको द्धन्दात्मक कथा र तिनको गर्भमा हुर्किदै गएको प्रेम कहानी रहेको “घ्रान” लाई काभ्रे संगै सिन्धुपाल्चोक,रामेछाप,सिन्धुली,मकवानपुर जस्ता मध्यपहाडी क्षेत्रका तामाङहरु विभिन्न कामको शिलशिलामा बनेपमा बस्दै आएकामा यिनै दर्शकहरुले मन पराउने नायक सागर घिसिङको अपेक्षा छ । यसको अलावा दशैको किनमेलमा शहर आएका थुप्रै दर्शकले पनि हेर्न सकुन् भनेर विहान ११ः३० बजेको समय तोकिएको भन्दै नायक घिसिङले एक पटक यो चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो । असोज ११ देखी चलिरहेको बनेपा महोत्सवमा आउने दर्शकहरुलाई पनि “घ्रान” चलचित्र हेर्नुहुन अनुरोध गर्नुहुन्छ उहाँ ।

नेपाली खस भाषामा डविङ गरी नेपालभरनै प्रदर्शनमा ल्याउने सोचका साथ फोके प्रविधि अपनाइएको यस चलचित्र प्रदर्शनको लागि रेडियो र माईकिङमार्फत समेत प्रचारप्रसार गर्नेसम्मका सबै तयारी सकिएको निर्माता राम घिसिङले जानकारी दिनुभयो ।

“घ्रान”मा सागरसँगै नायिका सुकुमाया मोक्तानको अलावा शुस्मा मोक्तान,बिकास स्यङ्तान, सुनिता थिङ, शम्भु घिसिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, राम चन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङ लगायतको दमदार अभिनय देख्न पाईनेछ ।

अमृत लामा र सागार घिसिङको कथा तथा पटकथामा जनक गुरुङ निर्दे्शित चलचित्रमा द्वन्द निर्देशन वाङ्छु लिम्बुको रहेको छ भने नृत्य निर्देशन अजय स्याङ्तानको रहेको छ । निर्देशक स्वयम्को संवादलाई बिक्रम लामा मोक्तानले क्यामेराकैद गर्नुभएको हो ।

कुमार स्याङ्बा र सुक्रानी दोङ (अनु)को शब्दलाई विशाल काल्तान,अमृत लामा, निमा दोङ र कृष्ण काफ्लेले संगीतबद्ध गरेका छन् भने ति गीतलाई अन्जु पन्त, विशाल काल्तान, जितु लोप्चन, निमा दोङ ,निर्माला घिसिङ, शम्भु घिसिङ र दिपा लामाले गाएका हुन् ।  ट्रेलर हेर्नुहोस्….

प्रतिक्रिया दिनुहोस !