नमोबुद्ध संवाददाता,,,

काठमाण्डौं–दर्जनौं पुल,सडक जस्ता पुर्वाधारको ठेक्का लिई लथालिङ्ग छोड्ने पप्पु कन्स्ट्रक्सनमाथि सरकार क्रुद्ध देखिएको छ । पैसा लिने तर काम भनेजस्तो नगर्ने कन्स्ट्रक्सनमाथि एक्सन लिने क्रममा सांसद हरिनारायण रौनियरको सांसद पद खुस्कीएको छ ।

सो कन्स्ट्रक्सनको नराम्रा प्रवृत्ति र तिनले पारेको असरमाथि पटक पटक मिडियाको खबरदारी र सरकारको तदारुकतापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद रहेका रौनियार स्वतः निलम्बनमा परेका हुन् ।

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रौनियार पप्पु कन्स्ट्रक्सनका असली नाईके हुन् अर्थात उनकै रेखदेखमा अहिले पनि कन्स्ट्रक्सन सञ्चालनमा छ । सांसद हुनुपुर्व त्यसको अध्यक्ष उनै हुन् । अहिले त्यो पद छोरा सुमितले सम्हाल्दै आएका छन् ।

सांसद रौनियारसँगै हाल कन्स्ट्रक्सनका अध्यक्ष रहेका उनका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध समेत अख्तियारले शसक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने प्रावधान छ ।

सांसद रौनियारले भने आफु सो कन्स्ट्रक्सनबाट अलग्गीसकेको प्रतिक्रिया दिने गर्नुभएको छ । केहि दिन अघि पत्रकार सम्मेलननै गरी उनले पप्पु कन्स्ट्रक्सन प्रालिसँग नाम जोडेर नियोजित रुपमा चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस !