नमोबुद्ध संवाददाता,,, ……
बनेपा– अरनिको राजमार्ग मिचेर बनाएका घर टहरा भत्काउने काम बुधबार पनि जारी रह्यो । राजमार्ग अतिक्रमण गरी बनाएका घर,टहरा,होडिङ बोर्डहरू हटाउने कार्य सोमबार साँगाबाट सुरु भएको हो । बुधबार बनेपा नगरपालिका वडा न. ७ र १० मा पर्ने चारदोबाटो छेउको पुरानो घर सहित १० घर,१५ टहरा र ४ शौचालय भत्काइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । साथै चारदोबाटोमा आधा ठडिएको सालिक र ईलाका प्रहरी कार्यालय बनेपाको गेट पनि हटाईएको छ ।
प्रहरी समेतको सहयोगमा साँझ सवा ६ बजेसम्ममा वरपर रहेका ८ होडिङबोर्ड समेत हटाउने काम सकिएको डिएसपी दिपक गिरीले जानकारी दिनुभयो । अरनिको राजमार्ग निर्माणताका मुआब्जा लिईसकेपनि केहि स्थानियहरु अटेर गरेर बसेका थिए । कोहीले पछि टहरा बसाएका थिए ।
धुलिखेलसम्म रहेका १५६ वटा त्यस्ता संरचनाहरु हटाउने डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । सडक डिभिजनले अहिले तत्काल अरनिको राजमार्ग अन्तरगत बनेपाको साँगादेखी चण्डेश्वरी खोलासम्म सडकको दायाँबायाँ २५÷२५ गज भित्र बनेका घर टहरा हटाउनेछ ।
त्यो घर ८ मिनेटमै भत्काईयो
दशकौं वर्षसम्म भत्काउन नसकेको बनेपा चारदोबाटो छेउको पुरानो घर बुधबार ८ मिनेटमै भत्काईयो । सो घर भत्काउन दुईवटा डोजर प्रयोग गरिएको थियो । एक स्थानियको उक्त घर २०७२ सालको विनासकारी भुकम्पको बेला थिलो थिलो भएपनि सडक यात्रुको जोखिमकैबिच टालटुल गरि राखिएको थियो,सडक यात्रुदेखी गाडी चालकलाई समेत समस्या हुन्थ्यो । सो घर अरनिको राजमार्ग बन्नुपुर्वनै रहेको बताईन्छ ।
यसअघि सडक डिभिजनले बारम्बार भत्काउने प्रयास गरिएपनि मुआब्जाको विषय तथा शक्तिको पहुँचका कारण भत्काउन नसकेको चर्चा थियो । स्थानियका अनुसार अरनिको राजमार्ग निर्माणताका त्यस वरपर सो घरबाहेक अरु थिएनन् । ५० वर्ष अघिदेखी मापदण्ड पुरा नगरेका घर टहरा भत्काउने क्रममा बुधबार हजारौं स्थानियको भिडभाडका बिच ठुलै प्रहरीको उपस्थीतिमा सो घर पन्छाइएको हो ।